अन्तर्राष्ट्रिय उडान भर्ने महिला पाइलटलाई विमानस्थलमा स्वागत

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पछिल्लो समय आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउँदै लगेको छ । सेवा मात्र नभई निगमले महिला विमानचालक (पाइलट)लाई अन्तर्राष्ट्रिय उडानको जिम्मेवारी सुम्पेको छ । निगमको उडान इतिहासमै पहिलोपटक महिला पाइलटले गत शनिबार (काठमाडौंदेखि दुबई) उडान भरेका थिए । पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले सफलतापूर्वक उक्त उडान भरेको थियो । एयरहोस्टेसहरूमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति रहनुभएको छ ।

यस्तै, बुधबार बिहान उहाँहरूकै टोलीले दुबई-काठमाडौं उडान भरेको छ । उहाँहरू काठमाडौं ल्याण्ड हुँदा सिमसिम पानी परिरहेको थियो । तर, विमानस्थलमा पानीको प्रवाह नगरी ठूलो जमात स्वागतका लागि बसिरहेका थिए । त्यो जमातको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आफैँले गर्नुभएको थियो । बुधबार नै अन्तर्राष्ट्रिय महिला दिवस परेकाले पनि त्यो एउटा सुखद अवसर रहन पुग्यो ।

नागरिक उड्डयनमन्त्री किराँती विमान कुरेर बस्नुको कारण भने महिला दिवसका अवसरमा उहाँहरूलार्ई सम्मान गर्नु थियो । विमानबाट यात्रु झारेर पाइलट-कोपाइलटसहित सबै दलका सदस्य ग्राउण्डमा पुग्दा मन्त्री किराँतीले नेपालको झण्डा र फूलको बुकीसहित उहाँहरूलार्ई स्वागत गर्नुभयो । महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि पर्यटनमन्त्री किराँतीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलोपटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताउनुभयो । महिलाहरूको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उहाँको भनाइ छ । यो उडानमार्फत पनि महिलाहरूले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किराँतीले उल्लेख गर्नुभयो ।

निगमका अनुसार दुई महिला पाइलटले निगमको एयरबस ए-३२० जहाज शनिबार राति ११ बजे काठमाडौंबाट दुबईका लागि उडान भरेका हुन् । निगमसँग अन्तर्राष्ट्रिय उडानमा चारजना न्यारोबडीमा एकजना र वाइडबडीमा गरी पाँचजना महिला पाइलट छन् । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ ।

निगमले आफ्नो उडान इतिहासमै पहिलोपटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजना पनि अगाडि बढाएको छ । जसअनुसार

चाँडै दक्षिण कोरियासँग सिधा उडानको तयारी पनि सुरु गरेको छ । राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान सुरु गरेपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजाबाहकको दायित्व पनि पूरा हुने निगमको विश्वास छ । निगमले हाल भारतका तीन गन्तव्य र आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग दुई थान न्यारोबडी ए–३२० र दुई थान वाइडबडी ए-३३० जहाज छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?