बेनीमा चार बर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा चार बर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सदरमुकाम बेनी स्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल र नुर्फिन दुई सय एम्पुल सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ बौर बस्ने बर्ष २८ की सोबिता बागदास र बेनी नगरपालिका–९ घतान घर भई बौर बस्ने बर्ष ३२ का प्रेम सार्कीलाई उक्त परिमाणको लागूऔषध सहित बुधवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार, पछिल्लो पटक दुई जनाबाट बरामद भएको उक्त लागूऔषधको यो परिमाण २०७६ सालयताकै सबैभन्दा धेरै हो । लागूऔषध सहित पक्राउ परेका बाग्दास र सार्कीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसंधान अघि बढाईएको प्रनाउ कुँवरले बताउनुभयो ।

यस अघि फागुन ११ गते पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोकबाट रुपन्देही सोमरीमाई गाउँपालिका–३ घर भएका १९ बर्षका मुस्ताफा खानलाई तीन सय ९३ ट्याबलेट नाईट्राभेट सहित नियन्त्रणमा लिइएको थियो ।

त्यसैगरि फागुन १६ गते बेनी नगरपालिका–८ कालीपुलबाटै भारतको बमनग्राम माल्दाहा घर भई पोखरा बसोबास गर्दै आएका २८ बर्षका अलेमुन हक ६.५ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका थिए ।

जिल्लामा पछिल्लो समय विद्यार्थी र युवाहरु लागूऔषधको कुलतमा फस्ने समस्या बढ्दै गएपछि लागूऔषधका कारोवारीहरु बढेपछि प्रहरीले लागूऔषध नियन्त्रणका लागि खोजी अभियान र विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमलाई संगसंगै अघि बढाएको छ ।
लागूऔषधको कारोबारमा संलग्नलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यालयले पछिल्लो पटक जिल्ला अदालतको फैसला कार्यान्वयनमा गरेका उपलब्धीहरु समेत सार्वजनिक गरिएको छ ।

कार्यालयले कर्तव्य ज्यान, लागूऔषध, सवारी ज्यान, बैङ्किक कसुर लगायतका विभिन्न मुद्धामा फरार रहेका २२ जना कसुरदारलाई पक्राउ गरि उनीहरुमाथि लागेको २५ बर्ष १ महिना २३ दिन कैद र रु १७ लाख ६६ हजार ३७५ जरिवाना समेत असुल उपर गराइएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?