अब हेमोडायलसिस सेवा सिन्धुली अस्पतालमै

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । हेमोडायलसिस सेवा अब सिन्धुलीमै निशुल्क पाइने भएको छ । मिर्गौलाका बिरामीले यो सेवा कमलामाई नगरपालिका-६ शिवनगरस्थित कोभिड अस्पतालबाट पाउने भएका हुन् । सिन्धुली अस्पतालले कोभिड अस्पताललाई हेमोडायलसिस युनिट बनाएको हो ।

गत मंगलबार दुई बिरामीको डायलसिस गरेर सेवा आरम्भ गरिएको थियो । सेवा सुरुवात गरिएको हप्ता दिन नवित्दै सम्पर्कमा आउने सेवाग्राहीको संख्या बाक्लो देखिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिशचन्द्र ढकालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बागमती प्रदेश सरकार र सिन्धुली अस्पताल विकास समितिको संयुक्त लगानीमा उक्त सेवा प्रदान गर्न थालिएको छ । प्रदेश सरकारले पाँच वटा डायलसिस मेसिन र उपकरण उपलब्ध गराएपछि आवश्यक तयारी तथा व्यवस्थापन र प्रक्रिया अस्पताल विकास समितिले पुरा गरेर सेवालाई प्रभावकारी बनाउन लागेको उहाँले बताउनुभयो ।

‘सेवा शुभारम्भ नै ठूलो कुरा होइन, दिगोपना दिनु महत्वपूर्ण कुरा हुन्छ,’ अस्पतालका अध्यक्ष ढकालले भन्नुभयो, ‘डायलसिस सेवा प्रदान गर्न सक्ने १० जना दक्षचिकित्सक र स्वास्थ्यकर्मी अझै आवश्यक छ । अहिले तीन जना तालिम प्राप्त दक्ष चिकित्सक र स्वास्थ्यकर्मी मार्फत सेवा प्रवाह गरिरहेका छौँ ।’

उक्त सेवालाई गुणस्तरीयता र दिगोपना दिन तीनै तहका सरकारको सहयोग आवश्यक परेको उहाँले सुनाउनुभयो । विकास निर्माणसँगै जनस्वास्थ्य सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन आफु प्रतिवद्ध रहेको कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेलको भनाई छ । अस्पतालले प्रदान गर्ने उक्त सेवा सुचिकृत नहुँदासम्म आवश्यक आर्थिक, सामाजिक सहयोग लगायत पहल र समन्वय हुने उहाँले बताउनुभयो ।

सिन्धुली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उमेश प्रधानकाअनुसार हेमोडायलसिस सेवा सुचिकृतको लागि प्रक्रिया अगाडी बढाईसकिएको छ । बीपी, पुष्पलाल र मदन भण्डारी राजमार्गको केन्द्रमा रहेको सिन्धुलीमा तराईका सर्लाही, महोत्तरी, रौतहट, धनुषाको उत्तरी भेगका साथै रामेछाप, दोलखा, ओखलढुंगालगायत जिल्लाका डायलसिस गर्नुपर्ने बिरामीलाई सेवा लिनको लागि काठमाडौँसम्म पुग्नुपर्ने झन्झटको अन्त्य हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?