टोस्ट मास्टर्सको कम्युनिकेटर अवार्ड नायक हमाललाई

Read Time = 4 mins

काठमाडौं । नेपालका चार डिभिजनको टोस्ट मास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले वार्षिक सम्मेलन ‘साइटेसन २०२३’ आयोजना गरेको छ । शनिबार आयोजित सम्मेलनमा नेपालका कर्पोरेसन, व्यावसायिक संस्था र अन्य समुदायका ६० भन्दा बढी टोस्ट मास्टर्स क्लबबाट करिब चार सय सदस्यको सहभागिता थियो । उत्कृष्ट सञ्चार-कौशल भएका टोस्टमास्टर क्लब बाहिरका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठित कम्युनिकेटर अवार्ड यस वर्ष अभिनेता राजेश हमाललाई प्रदान गरिएको छ । डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डिटिएम, डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर सुमन शाक्य डिटिएम, डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर मुन प्रधान डिटिएमले संयुक्तरूपमा उक्त अवार्ड प्रदान गर्नुभयो । डिस्ट्रिक्ट ४१ का इमिडिएट पास्ट डिस्ट्रिक्ट डिरेक्टर रञ्जित आचार्यले अवार्ड विजेता घोषणा गर्नुभएको थियो ।

मेगास्टार हमालको जन्म पाल्पाको तानसेनमा भएको हो । उहाँले विद्यालय शिक्षा मस्कोबाट पूरा गर्नुभएको छ भने भारतको पञ्जाब विश्वविद्यालयबाट अंग्रेजीमा एमए गर्नुभएको छ । अवार्ड ग्रहण गर्दै हमालले भन्नुभयो, ‘यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वित भएको छु । मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा टोस्ट मास्टर्सप्रति आभार प्रकट गर्दछु । अवश्य पनि यो सम्मानले मलाई भविष्यमा अझै राम्रो गर्न हौसला प्रदान गरेको छ ।’

सम्मेलनमा ‘आइएम इन्टेग्रिटी’ थिममा प्यानल छलफल पनि गरिएको थियो । प्यानलमा भूषण दाहाल, अनिल शाह र रेशु ढुंगाना रहनुभएको थियो । सञ्चालन ए डिभिजनका निर्देशक दिप्ती आचार्यले गर्नुभएको थियो । डिभिजन सी निर्देशक रविन्द्र प्रधानको संयोजकत्वमा भएको सम्मेलनमा टोस्ट मास्टरका सदस्यले आफ्नो गायन, नृत्य र हास्य-व्यंग्य प्रतिभा प्रदर्शन गरेका थिए भने सम्मेलनलाई डिभिजन बी र डीका डाइरेक्टर जेनी मानन्धर र बृजेन्द्ररोचन जोशीले संयुक्तरूपमा समापन गर्नुभएको थियो ।

डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डिटिएमले भन्नुभयो, ‘साइटेसन २०२३ एउटा ऐतिहासिक कार्यक्रम भएको छ । हामी सबैका लागि यो एउटा अत्यन्तै राम्रो सिक्ने अवसर थियो । दिल्लीदेखि म यहाँँ आएको छु र नेपालका सबै टोस्ट मास्टर्स भेट्न पाएको छु । आशा गर्छु, सबै टोस्ट मास्टर्सले एक-अर्कासँग राम्रोसँग चिनजान गर्नुभयो र राम्रो सञ्जाल बनाउनुभयो । पक्कै पनि यस सम्मेलनले सबै टोस्ट मास्टर्सलाई एकताबद्ध हुन र एकअर्कालाई अघि बढाउन मद्दत गरेको छ ।’

साइटेसनका इभेन्ट चेयर अभिस आचार्यले भन्नुभयो, ‘यो वर्षको कार्यक्रममा अहिलेसम्मकै सबैभन्दा धेरै टोस्ट मास्टर्स आउनुभएको थियो । एक-अर्कालाई चिन्ने र एक-अर्काबाट सिक्ने तथा आफूहरूलाई हिजोभन्दा झन् सुधार्ने कुरामा उहाँँहरूको सहयोग र लगनशीलता प्रशंसनीय छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?