बाँकेमा प्रथम कोहलपुर गोल्डकप हुँदै

हिमालय टाइम्स
Read Time = 4 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँके जिल्लाको कोहलपुरमा राष्ट्रियस्तरको प्रथम कोहलपुर गोल्डकप-२०७९ आयोजना हुने भएको छ । कोहलपुर रेसिङ सहारा क्लबको आयोजनामा कोहलपुरमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुने भएको हो । आयोजक क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत् मूल ब्यानर, लोगो, जर्सी र खेलतालिका कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले सार्वजनिक गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष चक्र क्षेत्रीले यही चैत ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा दुई विदेशी क्लबसहित कुल आठ क्लबको सहभागिता हुँदैछ । प्रतियोगितामा एएफसी क्लब क्यामरुन, भारतको सहारा क्लब र नेपालका हिमालय शेर्पा, कपिलवस्तु-११, संकटा क्लब, ब्वाइज युनियन क्लब काठमाडौं, नवलपरासी-११ र आयोजक रेसिङ सहारा क्लब सहभागी हुनेछन् । प्रतियोगिताको खेलतालिकाअनुसार हरेक दिन एउटामात्रै खेल हुने अध्यक्ष क्षेत्रीको भनाइ छ ।

४ गते हुने उद्घाटन खेल आयोजक रेसिङ सहारा क्लब र एएफसी क्लब क्यामरुनबीच हुनेछ । पहिलो चरणका खेलअन्तर्गत ५ गते भारतको सहारा क्लब र कपिलवस्तु-११, ६ गते हिमालय शेर्पा र नवलपरासी–११ र ७ गते संकटा क्लब र ब्वाइज युनियन क्लबबीच हुने खेलतालिका छ । उक्त अवसरमा कोहलपुर रेसिङ सहाराको ४ नम्बर जर्सी सार्वजनिक गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले सात लाख र द्वितीय हुने टिमले तीन लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कोहलपुर नगरपालिका प्रवद्र्धक रहेको प्रतियोगिताको मुख्य प्रायोजक हुलास खाद्य उद्योग प्रालि रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका सचिव नवकिरण शाहले प्रतियोगिताको ८० प्रतिशत तयारी सम्पन्न भइसकेको जानकारी गराउनुभयो । उहाँका अनुसार कोहलपुरमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिता सम्पन्न गर्न सबैको भूमिका महत्वपूर्ण रहेको छ ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख आचार्यले प्रतियोगिता कोहलपुरको गौरव भएको बताउनुभयो । पहिलोपटक कोहलपुरमा आयोजना हुन लागेको प्रतियोगिता सम्पन्न गर्न स्थानीय सरकारले सहयोग गर्न तयार रहेको उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

उहाँले प्रतियोगिता सफल बनाउन सबैको भूमिका रहेको भन्दै विषम परिस्थितिमा क्लबले गरेको पहलकदमी प्रशंसनीय रहेको जिकिर गर्नुभयो । उक्त अवसरमा बोल्दै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले प्रतियोगिता शान्तरूपमा सम्पन्न गर्न कार्यालयको पूर्ण सहयोग रहने बताउनुभयो । प्रतियोगिताको कुल लागत ८० लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?