चिनियाँ राष्ट्रपति सीलाई युक्रेनी समकक्षी जेलेन्स्कीसँग वार्ता गर्न स्पेनी प्रधानमन्त्रीको आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

बेइजिङ । स्पेनका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई युक्रेनी समकक्षीसँग कुरा गर्न आग्रह गरेको बताउनुभएको छ । बेइजिङस्थित स्पेनी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी युद्धबारे आफूले सी र अन्य शीर्ष चिनियाँ अधिकारीसँगको भेटमा ‘चीनको अडान’बारे छलफल गरेको बताउनुभएको हो ।

उहाँले रूसी नेता भ्लादिमिर पुटिनले युरोपेली संघ (इयू)को शान्ति र कल्याणका लागि बहुपक्षीय परियोजनालाई कमजोर बनाउन खोजेको आरोप पनि लगाउनुभयो ।

‘मैले राष्ट्रपति सीलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग युक्रेनी सरकारको यो शान्ति योजनाबारे प्रत्यक्ष जानकारी लिन कुराकानी गर्न प्रोत्साहित गरेँ,’ सान्चेजले भन्नुभयो ।

जेलेन्स्कीले पटक-पटक सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आउनुभएको छ । तर, पुटिनसँग पटक–पटक वार्ता भए पनि चिनियाँ नेताले युक्रेनसँगको छलफलका लागि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

बेइजिङले गत महिना युक्रेनको संकटको ‘राजनीतिक समाधान’का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो । युक्रेनका सहयोगीहरूले तुरुन्तै यो दस्तावेजमाथि शंका गरेका थिए भने यसलाई किभले स्वागत गरेको थियो ।

सान्चेजले शुक्रबार द्वन्द्वमा आणविक हतियारको प्रयोगको विरोध गर्ने बेइजिङको अडान र ‘क्षेत्रीय अखण्डता’का लागि चीनको घोषित समर्थनको पनि स्वागत गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘चीन सरकारले युक्रेनमा शान्ति स्थापना गर्न गरेको प्रयासलाई म स्वागत गर्दछु ।’ रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?