प्रहरी कार्यालय भित्र आफ्ना नेतामाथि कुटपिट भएको भन्दै राजविराजमा जसपा कार्यकर्ताले गरे प्रदर्शन

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 3 mins

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीको कार्यालय परिसर भित्रै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई इन्स्पेक्टर नवीन थापा मगरले कुटपिट गरेको आरोपमा जसपाका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

अध्यक्ष यादव महदेवा गाउँपालिकाको एक मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा हुनुहुन्थ्यो । छलफलका क्रममा प्रहरी कार्यालय जानुभएका यादवलाई प्रहरीले हातपात गर्दै कुटपिट गर्दा निधारमा चोट लागेको छ । त्यसको विरोधमा जसपाका कार्यकर्ताहरू जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन उत्रिएका हुन् ।

मुद्दाका विषयमा छलफल चलिरहँदा प्रहरी निरीक्षक नवीन थापामगरसँग अध्यक्ष यादवको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेको यादवको आरोप छ ।

यादवको टाउकोमा चोट लागेको छ । उहाँलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।

नेता यादवमाथि कुटपिट भएपछि आक्रोशित बनेका जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनावग्रस्त बनेको छ ।

उनीहरूले प्रहरी निरीक्षक थापालाई कारबाही हुनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताउनु भयो । साथै यसबारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने थापाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेशकुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा हुनुहुन्थ्यो । त्यस क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग यादवको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेको र हाल थापामगर प्रहरीको नियन्त्रणमा रहेको पनि डीएसपी सिंहले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?