रेसुंगामा महामहोत्सव हुँदै

Read Time = 2 mins

गुल्मी । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगामा नौ दिनसम्म महामहोत्सव मेला हुने भएको छ । आगामी वैशाख २३ गतेदेखि ३१ गतेसम्म ‘श्रीराम महायज्ञ, श्रीराम कथा महामहोत्सव एवं विराट सन्त भक्त दर्शन मेला’ सञ्चालन हुने भएको हो ।

महायज्ञमा मठ जोगिनी बाडा विकेनर राजस्थान भारतका योगी शम्भुनाथजी महाराजद्वारा श्रीराम कथा वाचन हुने र श्रीराम अयोध्याधाम भारतबाट स्वामी राजेन्द्रनन्दजी महाराजसहित सयौँ संख्यामा भारतीय सन्त तथा नेपालका प्रकाण्ड विद्वान्को समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।

महामहोत्सवबाट भारतको प्रख्यात अयोध्याधाम र राजस्थान भारत तथा नेपालको प्रसिद्ध धार्मिकस्थल रेसुंगा तपोभूमि, सिद्ध भूमिबीचको सम्बन्ध प्रगाढ हुनुका साथै सम्पूर्ण विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीमा रेसुंगाको महिमा, महत्व र ऊर्जाबारेमा प्रचारप्रसार हुन गई समग्र लुम्बिनी प्रदेशको धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।

महायज्ञ सफल पार्न चैत २७ गते बृहत् भेला आयोजना गर्ने र भेलाबाट मूल आयोजक समिति, व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरिने आयोजकले जनाएको छ । महामहोत्सवमा कम्तीमा एक हजार एक सय ११ नगद प्रदान गरी मूल आयोजक समितिको सदस्य बन्न सकिनेछ । महामहोत्सवको सम्पर्क कार्यालय जिल्ला समन्वय समितिको आवासको तल्लो तलामा राखिने अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?