ओलम्पिक छनोट : भियतनामसँग नेपाल पराजित

दोस्रो चरणमा पुग्ने लक्ष्यमा धक्का

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालको पेरिस ओलम्पिक २०२४ को महिला फुटबलतर्फ दोस्रो चरणमा पुग्ने लक्ष्यमा धक्का पुगेको छ । पहिलो चरण छनोटअन्तर्गत बुधबार भियतनामसँग पहिलो खेलमा ५-१ ले स्तब्ध भएपछि नेपालको अघि बढ्ने सम्भावनामा धक्का लागेको हो । अब दोस्रो चरणमा पुग्न शनिबार नेपालले आफूभन्दा निकै बलियो टोली भियतनामाथि अविश्वसनीय जित निकाल्नुपर्नेछ । भियतनामलाई भने नेपाललाई बराबरीमा रोकेपनि पुग्नेछ ।

खेलको ११ औं मिनेटमा फाम माइ यनले हेडरमार्फत गोल गर्दै भियतनामलाई अग्रता दिलाउनुभयो । उहाँले बायाँ विंगबाट थि थुएट दुंगले दिएको क्रसलाई सदुपयोग गर्नुभएको थियो । यस्तै ३५ औं मिनेटमा भियतनामले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर समिक्षा घिमिरेको हातमा बल लागेपछि पाएको पेनाल्टीलाई कप्तान ह्युन न्हूले गोलमा परिणत गर्नुभयो ।

त्यसको तीन मिनेटमै भियतनामले तेस्रो गोल गर्‍यो । दायाँ विंगमा थुएट दुंगले दिएको लो क्रसलाई थिबीच थुएले गोल गर्नुभएको थियो । योसँगै पहिलो हाफमा भियतनामले तीन गोलको अग्रता बनाएका थियो ।

दोस्रो हाफको सुरुवातमै थि लोनको क्रसमा कप्तान न्हुले हेडरमार्फत गोल व्यक्तिगत दोस्रो गोल र टोलीका लागि चौथो गोल गर्नुभयो । खेलको ७९ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले एक गोल फर्काउनुभएपनि ढिलो भइसकेको थियो । सरु लिम्बुको चलाखीपूर्ण पासमा सावित्राले दुई डिफेन्डरलाई पछि पार्दै गोल गर्नुभएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५-१ को जित दिलाउनुभयो । फिफा वरीयतामा नेपाल १ सयौं स्थानमा रहँदा भिएतनाम भने ३३ औं स्थानमा रहेको छ । ओलम्पिक छनोटको समूह सी मा नेपाल र भिएतनाममात्रै खेल्दैछन् । यसअघि अफगानिस्तान र प्यालेस्टाइन पनि रहेकोमा दुबै टोलीले नाम फिर्ता लिएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?