अञ्जनद्वारा ‘बाचापत्र’सहित प्यानल घोषणा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका प्रतिस्पर्धी अञ्जन श्रेष्ठले आफ्नो वाचापत्र सार्वजनिक गर्नुभएको छ । बुधबार काठमाडौंमा आफ्नो प्यानलको परिचय तथा वाचापत्र घोषणा कार्यक्रम आयोजना गर्दै उहाँले बैंकको सस्तो ब्याज र सरल रूपमा वैदेशिक ऋण प्राप्त गर्नसक्ने नीतिगत व्यवस्थाका लागि सक्दो पहल गर्ने बताउनुभयो । श्रेष्ठले वाचापत्रमार्फत जीवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र बनाउन प्रतिबद्धता जनाउनुभएको छ । साथै उहाँले स्थानीय उत्पादन प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपालजस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउन व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै उहाँले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यासमेत सम्बोधन गरेर सँगै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महासंघलाई नयाँ उचाइमा पुर्‍याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

उद्योगी व्यवसायीका कुरा सरकारमा बस्नेले ध्यानपूर्वक नसुनिदिने विद्यमान समस्या चिर्न र व्यवसायी भनेका देश विकासका लागि सरकारका सहयात्री हुन् भनेर स्थापित गराउनु आफ्नो मुख्य उद्देश्य रहने श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, ‘महासंघका अघिल्ला नेतृत्वले सुरु गरेका सुधारका कार्यलाई निरन्तरता दिनेछु । महासंघको कार्यालयमा हुने कार्यसम्पादनलाई सुदृढ गर्ने प्रण गर्दछु । निजी क्षेत्र र सरकार नदीका दुई किनारा होइनन् । हाम्रा लक्ष्य अलग छैनन्, सरकार र निजी क्षेत्र मिलेर काम गर्दा दुवै पक्ष लाभान्वित हुने मात्र होइन, मुलुककै सर्वांगिण विकासका लागि आधार बन्नेछ । व्यवसायीहरू पीडा सुनाइरहने र सरकारतर्फबाट उचित सम्बोधन नहुने अहिलेको अवस्थालाई सुधार्न म अहोरात्र खटिनेछु ।’ वातावरण निर्माण र उद्योगको प्रतिस्पर्धी क्षमता वृद्धिका लागि महासंघले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न सरकारसँगको साझेदारीमा सुविधासहितका आकर्षक कार्यक्रम ल्याउने योजनाका लागि पहल गर्ने श्रेष्ठले बताउनुभयो । युवा उद्यमी, स्टार्टअप तथा उद्योगी व्यवसायीलाई सहजीकरण गर्न थालिएका सम्पूर्ण कार्यलाई निरन्तरता दिँदै नीतिगत सुधारमा सरकारलाई निरन्तर झकझक्याउने कार्यमा आफूले विशेष जोड दिने उहाँले बताउनुभयो ।

त्यस्तै, छरिएर रहेका र असान्दर्भिक नियम कानुनमा एकरूपता ल्याउन सरकारसँगको सहकार्यमा प्रयास गर्ने, राष्ट्र बैंक, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय वा कुनै पनि नियमनकारी निकायले कुनै नीति वा नियम बनाउँदा सरोकारवाला उद्योगी व्यवसायीसँग पर्याप्त परामर्श नगर्दा र पर्याप्त परामर्शबिना कानुन बनाउँदा, पुराना कानुन अद्यावधिक नगर्दा व्यवसायीले धेरै समस्या भोग्नुपरेको श्रेष्ठले बताउनुभयो । उहाँले महासंघको कार्यक्षमता र प्रभावकारिता बढाउन प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्दै दोहोरो कर प्रणालीमा सुधार, व्यवसाय दर्ता सञ्चालन र खारेजी प्रक्रियामा सहजता, घरेलु तथा साना उद्योग तथा व्यवसायका समस्या समाधानका लागि महासंघ र स्थानीय सरकारसँगको सहकार्यलाई जोड दिइने पनि बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो, ‘सरकारको ध्यान आन्तरिक उत्पादन बढाउनेभन्दा पनि राजस्व बढाउनेतर्फ मात्रै केन्द्रित छ भन्ने प्रतित हुन्छ । यसको प्रत्यक्ष प्रभाव उद्योग तथा व्यवसायमा परिरहेको छ । सरकार राजस्वतर्फ केन्द्रित हुँदा आयातमा उच्च वृद्धि हुनु र निर्यातमा गिरावट आउनु स्वाभाविक हो । आन्तरिक उत्पादन बढाउन महासंघले नयाँ र पृथक रणनीतिक योजना बनाउने र सरकारसँग सहकार्य गर्ने संकल्प गर्दछु ।’ नेपालमा लगानीको कमीलाई सम्बोधन गर्दै निजी क्षेत्रलाई लगानीको स्रोत जुटाउन कन्ट्री रेटिङ, हेजिङ, स्वदेशी उद्योगी व्यवसायीले सहज र सरलरूपमा वैदेशिक ऋण प्राप्त गर्ने सक्ने व्यवस्थालगायत आवश्यक नीतिगत व्यवस्थाको कार्यान्वयन गर्न विशेष पहल गर्ने पनि उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?