सहकारी महासम्मेलन: सहकारी संस्थाको स्वनियमनमा जोड

Read Time = 7 mins

काठमाडौं । सहकारी विज्ञहरूले सहकारी संस्थालाई नियन्त्रण नभई स्वानियमनमा सञ्चालन हुन दिनुपर्ने बताएका छन् । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने बताउनुभएको छ । काठमाडौंमा जारी तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन शुक्रबारको कार्यक्रममा उहाँले सहकारीलाई नियमन गर्न छुट्टै निकाय स्थापना गर्नुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका निर्देशक रामशरण खरेलले आर्थिक सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताउनुभयो । एक अर्बभन्दा बढी कारोबार गर्ने सहकारी दुई सय पुगेको भन्दै उहाँले विकास बैंक, लघुवित्तभन्दा सहकारी ठूलो भइसकेको बताउनुभयो । निर्देशक खरेलले भन्नुभयो, ‘सहकारी सुधारमा हाम्रो चासो छ । बैंकको ब्याज धेरै भएमा सहकारीमा गएर बस्ने गर्छ । त्यो तरिकाले स्विम भइरहेको छ । सहकारीलाई ध्यान दिइरहेका हुन्छौँ ।’

बैंकमा ब्याजदर बढी भएपछि सहकारीबाट झिकेर बैंकमा राखेको हुन सक्ने भन्दै उहाँले तत्काल रिटर्न नदिने घरजग्गा र सेयर मूल्य घट्दा पनि सहकारीमा समस्या आएको उहाँले बताउनुभयो । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा संयुक्तरूपमा काठमाडौंमा आयोजित महासम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रूपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । सहकारी विस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएको उहाँको भनाइ थियो । सचिव रेग्मीले भन्नुभयो, ‘सहकारी क्षेत्रले नेतृत्व विकास, स्वरोजगार, उद्यमशीलतामा समेत विशेष योगदान पुर्‍याएको छ । अहिले सहकारी समस्यामा छन् । सबै मिलेर समाधान खोजौँ, केही सहकारीमा समस्या आउँदा सिंगो सहकारी बदनाम बन्न पुगेको र प्रश्नचिहृन उठेको छ । सुरक्षित अवतरणका लागि सबै लागौँ । डुंगा पल्टियो भने हामी सबै डुब्छौँ ।’ आन्तरिक नियमन प्रणाली बलियो बनाउन सके सहकारीमा समस्या नआउने सचिव रेग्मीको भनाइ थियो ।’

पूर्वसचिव गोपीनाथ मैनालीले स्वनियमन सिद्धान्त आदर्श भए पनि सहकारीका लागि आत्मा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भित्रैको मान्छेले समस्या देख्ने भएकाले स्वनियमन महत्वपूर्ण हुन्छ, सदस्य नै ठूलो नियामक भएकाले चासो राख्नुपर्छ, नियमन गर्नुपर्छ ।’ व्यवस्थापन, गुणस्तर सेवा, बाहृय पक्ष, चेक एण्ड ब्यालेन्सलगायतमा विशेष जोड दिनुपर्ने मैनालीले बताउनुभयो । काठमाडौं विश्वविद्यालयका प्राडा विनोदकृष्ण श्रेष्ठले बिगे्रका सहकारीलाई सही ट्र्याकमा ल्याउनुपर्ने बताउनुभयो । स्वनिमनमात्र नभई नियमन पनि आवश्यक रहेको उहाँको भनाइ थियो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेतले सरकारले गम्भीर भएर १५ दिनभित्र सहकारी अभियानका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । सरकारले १० अर्ब सहुलियत ऋण दिएमा तरलता अभाव हटाउन सकिने भन्दै उहाँले जानी-जानी सहकारीलाई आफ्नो व्यवसाय बनाउनेलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सहकारी जन्माएर अलपत्र पार्न नपाइने भन्दै उहाँले सरकारले पनि जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । सहकारीकर्मी आफैं करेक्सन गर्ने, गल्ती नदोहोर्‍याउने गर्नुका साथै सहकारीको सुधारका लागि संयुक्त र प्रभावकारी नियमन गर्नुपर्ने बडालको भनाइ थियो । जिल्ला सहकारी संघ दाङका सचिव शुक्रराज भण्डारीले सहकारी ऐनसँग बाझिएका ऐन परिमार्जन गर्नुपर्ने बताउनुभयो भने सहकारीकर्मी नरेन्द्र विष्टले अप्ठ्यारोमा सहयोग नगर्ने, स्वनियमनमात्र भन्ने भए सरकारी निकाय खारेज गर्नुपर्ने बताउनुभयो ।

अष्ट्रेलियाबाट सहभागी बिजनेस काउन्सिल अफ को-अपरेटिभ म्युचियल प्रमुख मेलिना मोरिसनले सहकारीको सहकार्यले देशको आर्थिक विकाससँगै देशको कुल गार्हस्थ्य उत्पादन(जिडीपी)मा समेत सहकारीको ठूलो योगदान रहेको बताउनुभयो । भारतबाट प्रतिनिधित्व गरेका आइसिए एपीका क्षेत्रीय निर्देशक बालु एयरले सहकारीहरू स्वनियममा सञ्चालन हुने संस्था भएकाले सरकारले सहकारीमा आएको समस्याको सहजीकरणमात्र गर्नुपर्ने तर नियन्त्रण र निर्देशन आवश्यक नभएको बताउनुभयो । भारतको राष्ट्रिय सहकारी विकास निगमका एमडी पंकजकुमार बंशलले सहकारीको पहिचान संकटमा रहेको भन्दै सहकारीलाई विश्वसनीय बनाएर स्वनियममा चलाउनुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री गणेश शाहलगायतले सहकारी क्षेत्रले अर्थतन्त्र र गरिबी निवारणमा पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

बिहीबार सुरु भएको महासम्मेलन शनिबारसम्म चल्नेछ । सो अवसरमा ११ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयविज्ञबाट कार्यपत्र प्रस्तुत भएको थियो । महासम्मेलनमा ७० जिल्लाका करिब एक हजारजनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?