भरतपुर अस्पतालमा सेवा विस्तार

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो ।

अस्पतालमा पिआइसियु, सिसियु र बर्न युनिट थप गरिँदै छ भने आइसियु र एनआइसियु सेवा विस्तार गरिँदै छ । अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन प्लान्टबाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पिआइसियुको अभाव रहँदै आएकामा आठ शय्याको यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । नवजात शिशुलाई एनआइसियु र १४ वर्षमाथिकालाई आइसियुमा राखेर उपचार गर्ने गरिन्छ ।

यसैगरी आगोले पोलेका बिरामीका लागि पहिलो पटक बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको छ । तीन शय्याको वर्न युनिट सञ्चालनमा ल्याउन लागिएको हो । यस्तै २० शय्या सञ्चालन हुँदै आएको आइसियुलाई १० शय्या थप गरी ३० पुर्‍याइँदै छ ।

अस्पतालमा एनआरएनएको सहयोगमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको छ । यसअघि अस्पतालमा दुई अक्सिजन प्लान्ट सञ्चालनमा छन् । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यहाँ कम जनशक्ति र उपकरणका कारण बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?