बगरफाँटमा सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा मंगलबारदेखि प्रथम सेभेन ए साइड खुला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद हरिबहादुर भण्डारीले खेल क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बाध्यता रहने भएकाले समस्या भएको बताउनुभयो ।

सांसद भण्डारीले बोलेर काम नगर्नुभन्दा काम गरेपछि मात्र बोल्ने आफ्नो बानी भएको बताउँदै प्राथमिकता र आवश्यकता तय गरेर बजेट माग गर्न स्थानीय सरकारका प्रतिनिधि (वडाध्यक्ष) र स्थानीयलाई आग्रह गर्नुभयो । त्यसैगरी बेनी नगरपालिका-२ का वडाध्यक्ष यामबहादुर कार्कीले बगरफाँटका युवाहरूको अग्रसरतामा विशाल खेलमैदान निर्माण गरी यति ठूलो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै बजेट र सामथ्र्यले भ्याएसम्म खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद स्वस्थ जीवनका लागि मात्र होइन सभ्य र सुसंस्कृत समाज निर्माणका लागि पनि अपरिहार्य भएको बताउँदै खेल क्षेत्रको विकासका लागि राज्यले आवश्यक लगानी गर्न सक्नुपर्छ भन्नुभयो ।

प्रतियोगितामा विभिन्न स्थानका २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगर एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?