समाजसेवी कुँवरलाई प्रबल जनसेवाश्री

Read Time = 2 mins

काठमाडौं । समाजसेवी एवं हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिका प्रमुख ताराबहादुर कुँवर नेपाल सरकारबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित हुनुभएको छ । उहाँलाई नयाँ वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले विभूषणद्वारा सम्मानित गर्नुभएको हो ।

चक्रपथ सफाइका अभियान्ता तथा सामाजिक व्यक्तिका रूपमा चिनिएका उहाँ समाजसेवी, कुशल व्यवसायीका साथै विभिन्न संघसंस्थामा आबद्ध हुनुहुन्छ । उहाँले आफ्नो जन्मभूमि काभ्रे भुम्लुका विभिन्न विद्यालयमा जाडोका लागि स्वेटर वितरण, निःशुल्क स्वास्थ्य शिविर आदि जस्ता सेवा प्रदान गर्दै आउनुभएको छ । साथै काभ्रेका विभिन्न ६ वटा क्याम्पसमा अक्षयकोष पनि खडा गर्नुभएको छ । निरन्तर समाजसेवा भन्दै २०७२ सालको भूकम्पका बेला उद्धार तथा राहत वितरण गरेर चर्चा कमाउनुभएका कुँवर नेपाल हेभी इक्युपमेन्ट निर्माण व्यवसायी महासंघको संस्थागत अध्यक्षसमेत हुनुहुन्छ ।

कोरोनाका समयमा समस्या परेकालाई राहत वितरण गरेर उहाँले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्नुभएको थियो । फरक क्षमता भएकाहरूलाई पटकपटक राहत वितरण गरेर समाजसेवा गरिसक्नुभएका कुँवरले रगतको अभाव हुन नदिन धेरै पटक रक्तदान कार्यक्रम पनि सञ्चालन गर्नुभएको थियो ।

यस्तै समाजसेवा गरेको प्रतिफलस्वरूप उहाँले प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा सम्मानित हुने मौका पाउनुभएको छ । संघर्ष, धैर्य र परोपकारी काम निःस्वार्थ भावनाले गरेबापत आफूले यो सम्मान पाएको उहाँ बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?