नौ महिनामा २१६ नयाँ उद्योग दर्ता

Read Time = 4 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो नौ महिनासम्ममा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका दुई सय १६ नयाँ उद्योग दर्ता भएका छन् । एक खर्ब ८० अर्ब रुपैयाँ लगानी प्रस्तावसहित उद्योग दर्ता भएका हुन् । उद्योग विभागका अनुसार साउनदेखि चैतसम्म दर्ता भएका कुल उद्योग-परियोजनामध्ये ५२ ठूला, ६० मझौला र एक सय चार साना गरी कुल दुई सय १६ रहेका छन् । चैतमा २५ अर्ब ४४ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धतासहित ३३ उद्योग दर्ता भएका छन् । दर्ता ३३ मध्ये पाँच ठूला, सात मझौला र २१ साना रहेको विभागले जनाएको छ ।

दुई सय १६ मध्ये उत्पादनमूलक उद्योग ८१, पर्यटनमूलक ४१, ऊर्जा तथा जलविद्युत्सम्बन्धी ३८, सेवामा आधारित ३७, सूचना प्रविधिमा आधारित आठ, कृषिमा आधारित छ, खानी उद्योग चार र पूर्वाधारमा आधारित एउटा उद्योग रहेका छन् । चैतमा उत्पादनमूलक उद्योग १२, सेवामा आधारित सात, पर्यटनमूलक चार, कृषिमा आधारित तीन, ऊर्जा तथा जलविद्युत्सम्बन्धी दुई, सूचना प्रविधिमा आधारित दुई, खानी उद्योग दुई र पूर्वाधारमा आधारित एउटा गरी कुल ३३ उद्योग दर्ता भएका हुन् । नौ महिनामा दर्ता भएका उद्योगले १६ हजार ३६० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्  । यो तथ्यांक चैतमा दर्ता भई ३ हजार ६१२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका ३३ उद्योगसहितको हो । यस अवधिमा प्रारम्भिक वातावरणीय परीक्षण (आइई) गर्ने उद्योग तथा परियोजनाको संख्या ६३ रहेको छ । चैतमा मात्रै २० उद्योगले आइई गरेका छन् ।

सो अवधिमा विभागले एक सय ९२ विदेशी लगानीका परियोजना स्वीकृत गरेकोमा ती परियोजनामा २८ अर्ब ११ करोड १८ लाख २३ हजार रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको छ । प्रस्तावित विदेशी लगानीका उद्योग-परियोजना सञ्चालनमा आउँदा १० हजार नौ सय २७ जनाले रोजगारी पाउने बताइएको छ ।

त्यस्तै, चैतमा सात अर्ब ५५ करोड १८ लाख रुपैयाँ बराबरको विदेशी लगानीका ३३ परियोजना स्वीकृत भएका छन् । जसमा एक हजार चार सय ४९ जनाले रोजगारी पाउनेछन् । समीक्षा अवधिमा ३३ कम्पनीबीच १३ अर्ब १० करोड छ लाख मूल्यको सेयर खरिदबिक्री वा हस्तान्तरण सम्झौता भएको छ भने चैतमा १६ सहित समीक्षा अवधिमा ५३ कम्पनीले प्रविधि हस्तान्तरण सम्झौता गरेका छन् । नौ महिनामा छवटा प्याटेन्ट दर्ता भएका छन् भने ११ डिजाइन दर्ता र दुई हजार एक सय ७४ ट्रेडमार्क दर्ता भएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदर, तरलता अभाव, मूल्यवृद्धि र उपभोक्ताको मागमा आएको गिरावटलगायतका कारण स्वदेशी लगानीकर्तासमेत लगानीका लागि उत्साहित नरहेको उद्योग विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?