काठमाडौंमा उच्च वायु प्रदूषण

संसारमा बढी प्रदूषण भएको सहरको सूचीको पहिलो स्थानमा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा ‘टप फाइभ’मा रहेको छ । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार काठमाडौं शनिबार साँझ विश्वकै पहिलो प्रदूषित सहर बनेकोमा आइतबार बिहान चौथो प्रदूषित सहर बनेको थियो आईक्युएयरका अनुसार आइतबार दिउँसो पनि सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको थियो । काठमाडौंको एयर क्वालिटी इन्डेक्स आइतबार दिउँसो २०८ पुगेको थियो । साँझ भने केही सुधार भएको थियो । आइतबार अबेर काठमाडौंको एयर क्वालिटी इन्डेक्स १८० मा झरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआईलाई राम्रो मानिन्छ । १५१ देखि दुई सय सम्मलाई अस्वस्थकर र २०१ देखि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ ।

डढेलोका कारण वायु प्रदूषण
जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । डढेलोका कारण देशभरको प्रदूषणको मात्रा बढेको वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार पानी नपर्दा र हावा वहन नसक्दा प्रदूषण एकै ठाउँमा थुप्रिएको हो । स्याटलाइट इमेज हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको देखिएको उहाँले बताउनुभयो । बारा, पर्सा र चितवनबाट बागमती करिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र वहन नसक्दा काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा बढेको उहाँको भनाइ छ । ‘देशभरी नै यसबेला वायु प्रदूषण बढेको छ । यसबेला पानी कम पर्ने र हावा पनि कम वहनाले प्रदूषण बढ्छ र डढेलोको सिजनमा फेरि वायु प्रदूषण बढ्छ,’ उहाँले भन्नुभयो, ‘अहिले वायु प्रदूषण बढेको डढेलोको कारणले हो । काठमाडौंमा तुवाँलोको समस्या छ । हावा पनि एकदम कम चलिरहेको छ ।’

प्रवक्ता पौडेलले प्रदूषणको मात्रा बढेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । सबैले मास्कको अनिवार्य प्रयोग र सकेसम्म घरबाहिर निस्किन उहाँले आग्रह गर्नुभयो । ‘अहिलेको अवस्थामा काठमाडौं उपत्यकामा रेड कलरमा प्रदूषण छ । त्यो भनेको सेन्सेटिभ हो,’ उहाँले भन्नुभयो, ‘मानिसहरू सकेसम्म घरबाट बाहिर ननिस्किने र सतर्क हुनुपर्छ । अहिलेको समयमा मास्कको प्रयोग गर्नुपर्छ ।’

सावधानी अपनाउन विज्ञहरूको आग्रह
हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदूषित सहरको सूचीको पहिलो स्थानमा राखेको हो । शनिबार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदूषण भएको सहरमा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा घटबढ भइरहेको छ । वायु प्रदूषणहरू बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूको सुझाव छ । जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले बागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदूषित सहरमा पहिलो नम्बरमा परेको बताउनुभयो ।

उहाँले प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताउनुभयो । विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्यकामा प्रदूषण बढेको बताउनुभयो । आइतबारबाट नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदूषण हट्न भने अझै केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो । उहाँले अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेको भन्दा २२ गुणा बढी प्रदूषण काठमाडौंमा रहेको उल्लेख गर्नुभयो ।

जलवायु तथा विपद् विज्ञ उप्रेतीले प्रदूषणबाट बच्नका लागि सरकारले आम नागरिकहरूलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले केही दिनको लागि धुवाँ निकाल्ने सवारीसाधन र मापदण्ड पालना नगरेका सवारीसाधन सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्रे गर्न र कालोपत्रे गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्ने बताउनुभयो । वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरू बढ्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?