अर्थतन्त्रका समस्या समाधानका लागि सहकार्यमा जोड

Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रका समस्या समाधानका लागि सहकार्यमा जोड दिनुभएको छ । सोमबार महासंघ पदाधिकारीसँगको छलफलका क्रममा उहाँले वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको स्वीकार गर्दै समस्या समाधानका लागि सहकार्यमा जोड दिनुभएको हो । अर्थमन्त्री महतले भन्नुभयो, ‘वर्तमान समयमा उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भएको छ तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौँ, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ । महासंघ नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधानको पहल गरौँ । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।’

सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन नसकेको स्वीकार गर्दै मन्त्री महतले सबै कुरामा मिलेर सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘देशको इफिसेन्सी बढाउने चुनौती छ, हामीले नीतिगतरूपमा धेरै कुरा भनेका छौँ तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’ आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तादत्म्य नहुँदा कतिपय समस्या सिर्जना भएको भन्दै उहाँले बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादात्म्यसाथ सँगसँगै लैजानुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो । अर्थमन्त्री महतले भन्नुभयो, ‘राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो । हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौँ, अहिलेको परिवेशमा त्यो महत्वपूर्ण छ ।’

सोही पृष्ठभूमिमा आफूले नेपाल राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको जानकारी दिँदै उहाँले आर्थिक सूचांक अब सकारात्मक हुने दाबीसमेत गर्नुभयो । अन्तर्राष्ट्रिय मुद्राकोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राख्ने गरेको र कोषको सल्लाह सुझावमा पुराना नीतिहरू समयसापेक्ष बनाउने पहल गरिएको उहाँले बताउनुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘निजी क्षेत्रले पनि वास्तविकता यो हो भन्नुहोस्, मौद्रिक नीतिमा सम्बोधन गर्न सरकार तयार छ । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो । अहिले बैंकर्स एसोसिएसनले ब्याजदरमा हेरफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारो थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?