सिंहदरबार-बागदरबार टकराव

काठमाडौंको फोहोर व्यवस्थापन फेरि प्रभावित हुने संकेत

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । काठमाडौं महानगरसहितका पालिकाको फोहोर व्यवस्थापन फेरि प्रभावित हुने देखिएको छ । यसअघि भएका सम्झौता कार्यान्वयन नभएको भन्दै नुवाकोटका दुई पालिकाले फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् । उनीहरूको चेतावनीसँगै फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुने देखिएको हो । काठमाडौं महानगरले सिंहदरबारको फोहोर उठाउन छोडेकै बेला काठमाडौंको फोहोर विसर्जन हुँदै आएको क्षेत्र नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले यसअघि भएका सहमति र सम्झौताको कार्यान्वयन नभए फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका हुन् । यसअघि गत जेठ २६ गते सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र फोहोरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षहरूको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो ।

फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिका र केन्द्र सरकारबीच विवाद चर्किरहेकै बेला ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै गत जेठमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको हो । उहाँहरूले यस अघिका सम्झौता पूरा गर्न १५ दिनको ‘अल्टिमेटम’ दिनुभएको छ । काठमाडौं महानगरपालिकासहित १८ वटा स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएकोमा आफूले राखेको माग पूरा नभएको भन्दै जनप्रतिनिधिले १५ दिने अल्टिमेटमसमेत दिएका हुन् । हाल नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

उनीहरूले ६ बुँदे माग अघि सारेका छन् । बञ्चरेडाँडाको फोहोरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट दुई किमी जिपिएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग उनीहरूले राखेका छन् ।

त्यस्तै, वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, ककनी र धुनिवेशी नगरपालिकाका वडामा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास तथा रोजगारीका योजना सञ्चालन हुनुपर्ने माग उनीहरूको छ । आफ्ना मागहरू यथाशीघ्र पूरा नभए दुवै स्थानीय तहको कार्यपालिका बैठक बसेर फोहोर व्यवस्थापन गर्न नदिने उनीहरूको चेतावनी छ । काठमाडौं महानगरपालिकाले केही दिनदेखि सिंहदरबारको फोहोर उठाउन बन्द गरेको छ । काठमाडौंका मेयर बालेन्द्र साहले आफूहरूले उठाएका मुद्दामा संघीय सरकारले बेवास्ता गरेको भन्दै फोहोर नउठाउने घोषणा गर्नुभएको थियो । उहाँको घोषणासँगै पछिल्लो दुई सातादेखि सिंहदरबारको फोहोर उठेको छैन । मेयर साह निर्वाचित हुँदा पनि काठमाडौंको फोहोर व्यवस्थापनमा लामो समय समस्या उत्पन्न भएको थियो ।

सिंहदरबारमा दुर्गन्ध फैलिने डर, व्यवस्थापनको उपाय खोजिँदै
काठमाडौं महानगरले दुई सातादेखि सिंहदरबार भित्रको फोहोर उठाएको छैन । लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ । दुई सातादेखि फोहोर नउठेपछि सिंहदरबारभित्र दुर्गन्ध फैलिन थालेको छ । दुर्गन्ध फैलिन थालेपछि सिंहदरबारभित्रै फोहोर व्यवस्थापनको तरिका अपनाउन थालिएको हो । कुहिने र नकुहिने दुई थरिका फोहोरलाई छुट्टाछुट्टै किसिमले व्यवस्थापन गर्न थालिएको छ । कुहिने फोहोरलाई खाल्डो खनेर व्यवस्थापन गर्न थालिएको छ भने नकुहिने फोहोरलाई छनोट गरेर बाहिर पठाउने काम भइरहेको सिंहदरबारका कर्मचारीहरू बताउँछन् । महानगरले वार्ता नभएसम्म कुनै पनि हालतमा फोहोर नउठाउने बताउँदै आएको छ । सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्चमा रिटसमेत दायर भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?