सस्तो मूल्यमा विकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाए: अध्यक्ष ओली

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-माधव नेपालहरुले सस्तो मूल्यमा विकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाउनु भएको छ ।

कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यमबाट दुई तिहाईको अवस्थामा पुर्‍याइएको तर प्रचण्ड-माधव नेपालहरुले सस्तोमा विकेर त्यसलाई ध्वस्त बनाएको ओलीको जिकीर थियो ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उनीहरु कतिमा बिकेभन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरुले नबुझेको समेत बताउनु भयो । ओलीले कम्युनिष्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको दावी समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘कुनै पनि कम्युनिष्टहरु हाम्रै पार्टीबाट गएका हुन है । प्रचण्ड कहाँबाट गएका ? यही कम्युनिष्ट पार्टीबाट ऐझेरु पलाएझैं पलाएको त हो नि । २००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र । यो पार्टी त पछिसम्म एउटै थियो । दुई तिहाई पुर्‍यायौ हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर । पार्टी एकता र एकीकरण गरेर । तर टुप्पामा बस्ने नेताहरुलाई सही सक्नु भएन । र, उनीहरु विके । यत्तिकै उनीहरुले भोलेन्टरिइली कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला । कुनै कारणविना कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला । सस्तो मुल्यमा । के, कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो । बाहिरबाट देखिने कतिपय स-साना कुराहरु हामी पनि देख्छौं । तर भित्री कुरा हामीलाई थाहा छैन ।’

ओलीले प्रचण्ड र माधव नेपालहरुले कम्युनिष्ट पार्टीको झण्डा बोकेर हिँडनु बेकार रहेको टिप्पणी समेत गर्नु भयो । उहाँले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्ष भित्र मुलुकबाट गरिवी समाप्त पारिदिने बताउनु भयो । २५ वर्ष भित्र एमालेले मुलुकलाई आधुनिक र विकसित राष्ट्र बनाउने ओलीको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘म घोषणा गर्न चाहन्छु-आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउने छ । रोक्ने शक्ति कोही छ भने रोक्नुस । यस अभियानलाइ रोक्न सक्ने कोही छ भने रोकोस् । यो लुकेर भनिएको छैन । खुलेआम भनिएको छ । आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउँछ । अर्को त्यसपछिको १० वर्षमा नेकपा एमालेले विकाशशील राष्ट्रको राम्रै स्तरमा यस देशलाई उकास्छ । र, यस देशबाट गरिवी भन्ने कुरा समाप्त पार्ने छ । र, खान, लगाउन पुग्ने देशको रुपमा, गरिवी नभएको देशको रुपमा र आधारभूत आवश्यक्ता परिपूर्ण भएको देशको रुपमा १० वर्षको अवधिमा यसले विकास गर्छ । त्यस कामको नेतृत्व नेकपा एमालेले गर्छ । त्यसपछि जब नेकपा एमाले सय वर्ष पुग्छ । त्यतिबेला नेपाल एउटा आधुनिक विकसित राष्ट्र बनाउनै छौं आगामी २५ वर्षमा । त्यस कामको नेतृत्व नेकपा एमालेले गर्छ ।’

ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन चाहेको उल्लेख गर्दै त्यसमा केन्द्रित भएर लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?