बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको प्यास मेट्न ‘सोलार पोखरी’

हिमालय टाइम्स
Read Time = 4 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जले सोला पोखरी निर्माण सुरु गरेको छ । निकुञ्जको सीमामा रहेका विभिन्न क्षेत्रमा सोलार पोखरी निर्माण सुरु गरिएको हो । बाघ, चित्तललगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार पोखरी र घाँसे मैदान सुरु गरिएको निकुञ्जले जनाएको छ ।

करिब ४६ खहरे खोलामा पानी नभएकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिनुभयो । ‘बिहान वा बेलुकाको समयमा वन्यजन्तु पानी खान तछाडमछाड गरेको दृश्य देख्न सकिन्छ’, उहाँले भन्नुभयो ।

उहाँले सुक्खा समयमा चुरेको घाँसे मैदान आसपासमा सामान्य पानी रहने र वन्यजन्तुलाई पानीको अभाव हुने भएकाले प्रत्येक वर्ष करिब चार पोखरी निर्माण गर्ने योजनाअनुसार ती पानी पोखरी बनाइएको बताउनुभयो । ‘सोलार जडित बोरिङबाट निरन्तर पानी आइरहन्छ र त्यसबाट आहार खाने विभिन्न प्रजातिका वन्यजन्तु पोखरीमा आएर प्यास मेट्छन्’, प्रमुख संरक्षण अधिकृत शाहले भन्नुभयो । निकुञ्जभित्र विभिन्न ठाउँका १० स्थानमा सोलार जडित पोखरी निर्माण भइसकेका छन् ।

यसलाई निकुञ्जको भूगोलअनुसार अझ बढाएर सघनरुपमा चार सय ५० पानी पोखरी निर्माण गर्ने योजना रहेको निकुञ्ज प्रशासनले जनाएको छ । सीमसार क्षेत्रमा पानी भइरहने पोखरी चार स्थानमा रहेको छ । निकुञ्जभित्र खनेर बनाइएको ८० पोखरी छ जहाँ सुक्खायामा पानी हुँदैन जसका कारण वन्यजन्तुलाई पानीको अभाव हुने गर्छ ।

कतिपय ठाउँमा ३० मिटरमा पनि पानी आएको छ भने कतिपय ठाउँमा ६० मिटरमा पनि पानी नआएको उल्लेख गर्दै अधिकृत शाहले सोलार जडित पोखरी निर्माणका लागि १० लाख खर्च हुने जानकारी दिनुभयो । शाहले पोखरी निर्माणसँगै वन्यजन्तुका आहारका लागि घाँसे मैदानसमेत बनाउँदै जाने जानकारी दिँदै वन्यजतुको संख्या, प्रकार र विविधतालाई संरक्षण गर्ने योजनाअनुसारका काम भइरहेको बताउनुभयो ।
निकुञ्जभित्र प्रत्येक दुई किलोमिटरको ग्रिडभित्र बाघको अनुगमन र गणना गर्ने काम भएको छ । प्रत्येक ग्रिडमा एउटा पानी पोखरी, घाँसे मैदानको संयोजन गर्नसके वन्यजन्तुलाई लुक्ने स्थानको समेत विकास भएपछि वन्यजन्तु ग्रिड बाहिर जान नरुचाउने र उसमा कुनै विचलन नआउने उहाँले बताउनुभयो ।

निकुञ्जभित्र घासे मैदान २० स्थानमा रहेको छ । बाघलगायतका वन्यजन्तुको संरक्षण गर्ने र पर्यापर्यटनलाई जोड्ने विषयलाई प्राथमिकतामा पारेकाले पोखरी निर्माण कार्य बजेटअनुसार बर्सेनि हुने निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?