एमाले बाहेकको वाम मोर्चा बनाउने तयारी

नेताहरू भन्छन्- फेरि नेकपातिरै फर्किनुपर्छ

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । वामपन्थीहरू फेरि एकठाउँमा आउनुपर्ने नेताहरूले बताएका छन् । आइतबार एउटै मञ्चबाट नेकपा (एमाले) बाहेकका कम्युनिष्ट नेताहरूले वामपन्थीहरूले एकठाउँमा आउनुको विकल्प नभएको बताएका हुन् । नेकपा स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै नेताहरूले सके एकता नभए एउटै मोर्चा बनाएर जानुपर्ने बताएका हुन् । कार्यक्रममा एमाले नेताहरू भने उपस्थित थिएनन् । उनीहरूले छिट्टै वाम मोर्चा बनाउनेसमेत घोषणा गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै समाजवादी मोर्चा गठन हुने बताउनुभयो । केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिष्ट आन्दोलनको नयाँ धुव्रीकरणतिर जाने अध्यक्षद्वयको भनाइ छ । त्यो मोर्चाले नेकपातिर फर्किन सबैलाई अपिल गर्ने उनीहरूको भनाइ छ ।

२०७४ सालको चुनावअघि एकताको घोषणा गर्दै वाम तालमेल गरेका एमाले र माओवादी केन्द्रले झण्डै दुईतिहाइ बहुमत पाएको थियो । २०७५ साल जेठमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको थियो । तर, पछि नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदिएपछि दुई पार्टी अलग भएका थिए । त्यसपछि एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी बनेको हो । समाजवादी केन्द्र बनाउने अभियानमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी छन् । उनीहरूले समाजवादी मोर्चा बनाउने घोषणा गरेको लामो समय भए पनि हुन सकेको छैन ।

हामी कम्युनिष्ट एकताको पक्षमा छौँ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पुनर्जीवित गराउन लागिपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा बनाएर नेकपालाई पुनर्जीवित गराउन अपिल गर्ने घोषणा गर्नुभयो । उहाँले नेकपालाई पुनर्जीवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने तर्क गर्नुभयो । नेताहरूको सनकको भरमा तत्कालीन एकता टिक्न नसकेको भन्दै अब देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । ‘कम्युनिष्ट र वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्ने आवश्यक्ता र जिम्मेवारी पूरा भयो भन्ने होइन । फेरि पनि हामीले सही विचार र नीतिको आधारमा कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने कुरा जारी राख्नुपर्दछ,’ उहाँले भन्नुभयो, ‘हामी कम्युनिष्ट पार्टी एकताको पक्षमा छौँ । राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्दछ भन्ने पक्षमा छौँ । नेकपातिर नै फर्कनुपर्दछ । देश र जनताले त्यही खोजेको छ । राष्ट्रको हितमा एकताको एउटा नयाँ पहल सुरु गरौँ । त्यसो गरेर मात्रै हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुन सक्नेछौँ ।’ प्रचण्डले मुलुकमा विचार, राजनीति, मूल्यमान्यताभन्दा बाहिरबाट अराजकता सृजना गर्ने कोसिस भइरहेको दोहो¥याउँदै कम्युनिष्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।

छिट्टै समाजवादी मोर्चा घोषणा गर्छौं : नेपाल
नेकपा (एकीकृत समाजवादी)का माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताउनुभएको छ । अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने घोषणा छिट्टै गरिने बताउनुभयो । उहाँले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरूबीच एउटै पार्टी हुने पनि बताउनुभयो । ‘हाम्रो पार्टीले वाम-समाजवादी शक्तिहरूसँग सहकार्यको नीति अघि सारेको छ । अझ अगाडि बढेर समाजवादी मोर्चा निर्माण गर्ने सोच पनि अगाडि सारेको छ,’ उहाँले भन्नुभयो, ‘छिट्टै हामी समाजवादी मोर्चा बनाएर जनतासामु घोषणा गर्नेछौँ । अझै त्योभन्दा अगाडि बढेर विचार, नीति र सिद्धान्त मिल्यो भने एउटै पार्टी पनि हुन सक्छौँ ।’ मुलुकमा विद्यमान समस्यालाई समाधान गर्न कम्युनिष्ट शक्तिहरूको विकल्प नभएको उहाँको भनाइ छ । उहाँले नेकपा मसाल, नेकपा संयुक्त लगायतका साना वाम राजनीतिक शक्तिहरूलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न पनि आहृवान गर्नुभयो । ‘कम्युनिष्ट पार्टी सानोसानो समूहमा विभाजित भएको देखिन्छ । सबै कम्युनिष्ट पार्टीहरू एकठाउँमा उभिन सक्यो भने राजनीति र देश परिवर्तनको अभियानमा नेतृत्वदायी भूमिकामा उभिन सक्दछ,’ उहाँले भन्नुभयो, ‘जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका पनि छन् । विश्वास गरेका छन् । एमाले र माओवादी मिलेर तत्कालीन नेकपा भइसकेको थियो । जनताले झण्डै दुईतिहाइ मत दिएका थिए । त्यो अवसरलाई प्रयोग गर्न सकेको भए कम्युनिष्ट पार्टी कहिल्यै दोस्रो बन्ने अवस्था आउने थिएन ।’

विचार मिल्ने वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ : खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको बताउनुभएको छ । नेता खनालले देशको संस्कृतिमाथि अन्तर्राष्ट्रिय क्षेत्रबाट अतिक्रमण भइरहेको बताउनुभयो । देशमा सांस्कृतिक संकट गहिरिँदै गएको उहाँको भनाइ छ । उहाँले पछिल्लो समय कुनै निश्चित धर्मको नाममा ठूल्ठूला भवनहरू बनेको भन्दै आश्चर्य प्रकट गर्नुभयो । त्यसैगरी, देशको राष्ट्रियता पनि संकटमा परिरहेको उहाँको भनाइ छ । ‘देशमा आर्थिक संकट छ । सांस्कृतिक संकट झन् गहिरिँदै छ । राष्ट्रिय संस्कृतिविरुद्ध अन्तर्राष्ट्रिय क्षेत्रबाट भयावह ढंगले अतिक्रमण प्रवेश गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘सांस्कृतिक संकट पनि बढ्दो छ । राष्ट्रियतामाथि व्यापक अतिक्रमण भइरहेको छ ।’ देशको समस्याहरू समाधान गर्न विचार मिल्ने वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।

छानविन गर्ने हो भने सबै जान्छन् : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार देशको मुख्य समस्या रहेको बताउनुभएको छ । आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचार मूल समस्या रहेको बताउनुभयो । अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको उहाँले बताउनुभयो । भ्रष्टाचारको छानविन गर्दा एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने उहाँको भनाइ छ । सत्ता र सत्ताबाहिर बसेका सबै नेताहरूलाई अर्ब रुपैयाँभन्दा कमको चार्ज नभएको उहाँले बताउनुभयो । ‘०६४/०६५ पछि हरेक संगठनको दृष्टिकोण आर्थिकमा गएर जोडियो । मैले आरोप लगाएको होइन, छानबिन गर्ने हो भनेसबै जान्छन्,’ उहाँले भन्नुभयो, ‘सबैलाई अर्बभन्दा कमको चार्ज छैन । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । नेपालको समस्या भनेको भ्रष्टाचारकै समस्या हो ।’ महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टीकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?