उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘चमत्कार’, कांग्रेस र एमालेलाई ठूलो झड्का

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभाका तीनवटा क्षेत्रको मतगणनामा दुई ठूला दल एमाले र कांग्रेसलाई झड्का लागेको छ । मतपरिणामको रुझान हेर्दा गत मंसिरको चुनावमा पाएको मत पनि कांग्रेस र एमालेले जोगाउन सकेका छैनन् । सोमबार राति यो समाचार तयार पार्दासम्म चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने आफ्ना प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतले अगाडि हुनुहुन्छ भने तनहुँ १ मा स्वर्णीम वाग्लेको जित निश्चित भइसकेको छ । लामिछाने १२ हजार ५४० मतसहित अगाडि हुनुहुन्छ । नेकपा एमालेका रामप्रसाद न्यौपाने ३ हजार ५७३ मतसहित दोस्रो र नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ ३ हजार ५५५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

लामिछानेले मंसिरको चुनावमा भन्दा पनि बढी मतका साथ अग्रता लिइरहनुभएको छ । इच्छाकामना गाउँपालिकामा गत मंसिरमा भएको निर्वाचनमा लामिछाने तेस्रो हुनुभएको थियो तर यसपालि उहाँले अन्य प्रतिस्पर्धीले भन्दा धेरै मत ल्याउनुभएको छ । मंसिरमा सबैभन्दा बढी एमालेको ल्याएको थियो । यहाँ एमालेले तीन हजार ६२३ मत पाएको थिया । नेपाली कांग्रेसले तीन हजार २१६ मत पाएको थियो । यस्तै रास्वपाले भने दुई हजार ९७५ मत पाएको थियो । यस्तै भरतपुर महानगरपालिकाका वडाहरूमा पनि लामिछानेको मत गत चुनावमा पाएको भन्दा बढी देखिएको छ ।

यता तनहुँमा वाग्लेको जित निश्चित देखिएको छ । मतगणना अन्तिमतिर आइपुग्दा रास्वपा उम्मेदवार वाग्लेको मतान्तर फराकिलो भएपछि कांग्रेस उम्मेदवार भट्टराईले हार स्वीकारेको अभिव्यक्ति आफ्नो फेसबुकमा राख्नुभएको छ । उहाँले मतदातालाई धन्यवाद दिँदै आफूलाई अब्बल सावित गर्न नसकेको बताउनुभएको छ । यो क्षेत्रमा यसअघि कांग्रेसले जित हात पारेको थियो । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्र रिक्त रहेको थियो । तर, अहिले सो क्षेत्र कांग्रेसले गुमाएको छ ।

यस्तै, बारा क्षेत्र नम्बर २ मा भने जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले अग्रता लिनुभएको छ । उहाँलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहनुभएको छ । यो समाचार बनाउँदासम्मको मतपरिणाम अनुसार यादवले तीन हजार ७८१ मत प्राप्त गर्नुभएको छ भने कुशवाहाले दुई हजार ९८१ मत पाउनुभएको छ । नेकपा एमालेका पुरूषोत्तम पौडेल एक हजार ६४० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । चितवन २ मा पार्टी सभापति रवि लामिछाने र तनहुँ १ वाग्लेले फराकिलो अग्रता लिइरहँदा सोही पार्टीबाट बारा २ मा उम्मेदवार रहनुभएका रमेश खरेल भने निकै पछाडि पर्नुभएको छ । खरेलले ६४१ मत प्राप्त गर्नुभएको छ ।

लोकतन्त्रमा एउटा व्यक्तिले मात्रै चमत्कार गर्ने भन्ने हुँदैन : वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार स्वर्णिम वाग्लेले अहिलेको मतादेश पुराना दलहरूको नेतृत्वको कार्यशैलीप्रतिको वितृष्णा रहेको बताउनुभएको छ । वाग्लेले सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै यो मतादेशले नयाँ युवाहरूले नेतृत्व गरेको राजनीतिक अभियानप्रतिको आशा रहेको पनि बताउनुभयो । चुनाव जितेको अवस्थामा आफूले निर्वाचनअघि गरेको वाचाप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयोे, ‘चुनावअघि गरेका वाचाहरू पूरा गर्न इमानदार प्रयास हुनेछ । लोकतन्त्रमा एउटा व्यक्तिले आएर जादूको छडी चलाएर चमत्कार गर्ने भन्ने कुरा हुँदैन । सबै सामूहिक रूपमा हुन्छ र प्रणालीबाटै गर्ने हो ।’ तनहुँ-१ बाट रास्वपा उम्मेदवार बनेका वाग्लेको जित निश्चित भइसकेको छ । उहाँले मतगणना हुँदा सुरुवातदेखि नै अग्रता लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?