महोत्तरीमा खानेपानीको सङ्कट

हिमालय टाइम्स
Read Time = 8 mins

महोत्तरी । घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ ।

“इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो”, बर्दिबास-९ पशुपतिनगर, झ्याकुलेटोलका राजकिशोर महतोले इनार देखाउँदै भन्नुभयो, “बयलगाडा जोतेर पानी लिन दुई/तीन किलोमिटर परका बस्तीमा जानुपर्ने दिन आउँदैछन् ।” खानेपानीको सङ्कट व्यहोर्दै आएका पशुपतिनगरका बासिन्दाले यसअघि कयौँ साल बयलगाडा जोतेर पानी ल्याएको सम्झिरहेका छन् ।

करिब चार हजार जनसङ्ख्या रहेको पशुपतिनगरका सात-आठ टोल बस्तीमा गरी एक सयभन्दा बढी इनार छन् । सबैजसो इनारमा अहिले पानी जमौट (इनारको सबभन्दा तलको बन्धन, जहाँबाट इनार ठड्याउँदै लगिन्छ)को घेरामा पुगेको सो बस्तीकै ब्रह्मदेव महतो बताउनुहुन्छ । सामान्यतया प्रत्येक वर्ष वैशाख-जेठमा यहाँका इनारमा पानीको सतह गहिरिँदै जाने भए पनि यसपालि भने चैतदेखि नै यो समस्या बढेको हो । यसपालि हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह चैतमै गहिरिएको पशुपतिनगर गोमस्ताटोलका उत्तमबहादुर राना बताउनुहुन्छ । हिउँदे वर्षा कम भएकाले खानेपानीको सङ्कट भएको पशुपतिनगरका बासिन्दाको अनुभव छ ।

झ्याकुले टोलका इनार पूरै सुकिसकेका स्थानीय सुरेन्द्र महतोको भनाइ छ । “हामी यो टोलका आठ-दश घर त पानी लिन साइकलमा गाग्री झुण्ड्याएर करिब दुई किलोमिटर परको खेतको इनारमा जान थालेका छौँ”, उहाँले भन्नुभयो । बस्तीका धेरैजसो इनारमा पानीको सतह जमौटमै पुगिसकेको छ । मोटरबाट पानी तान्न ओछ्याइएका पाइपको काम सकिएको छ ।

इनार धमाधम सुक्दै गएपछि बालीनाली सुक्न थालेका छन् । तरकारीखेती मुख्य बाली लगाइने यहाँ लहरे तरकारीका बोट पानी नपाएर सुक्दै गएका छन् । अहिले लटरम्म फल्नुपर्ने वैशाखी सिजनका लौका, फर्सी, करेला, घिरौला र झिमनीका लहरा चर्को घामको रापले सुकेपछि किसानलाई खानेपानीसँगै अबको गुजाराको चिन्ताले पनि पिरोल्न थालेको छ ।

पशुपतिनगरमा खानेपानीको सङ्कट टार्न बोरिङबाट मोटरले पानी तानेर टयाङ्कीमा भण्डारण गरी घरघरै धाराबाट पानी दिने व्यवस्थाका लागि काम भइरहेको छ । “ खानेपानीका धारा सञ्चालनमा ल्याउने योजना छ”, बर्दिबास-९ का वडाध्यक्ष घुरन महतोले भन्नुभयो ।

बर्दिबासमा पशुपतिनगरमात्र नभएर बिजलपुरा, विजयबस्ती, प्रेमनगर, फुलबारीटोल, किसाननगर, मनहरिपुर र कृष्णपुरसहितका बस्तीमा पनि खानेपानीका मुख्य स्रोत इनार नै हुन् । यी बस्तीका इनार पनि धमाधम सुक्दै जाँदा खानेपानी र सिँचाइको समस्या बढ्दो छ । बर्दिबासबाहेक उत्तरी क्षेत्रकै गौशाला नगरपालिकाका भरतपुर, लक्ष्मीनियाँ (पहिलेका गाविस क्षेत्र) र भङ्गाहा नगरपालिकाका रामनगर, भूचक्रपुर, प्रेमनगर र टोकासहितका बस्तीका इनार पनि सुक्दै गएका छन् ।

“पहिले खन्दा १५-१६ हातमै पानीको मूल फुट्थ्योे”, ३० वर्ष पहिले खनिएको इनार देखाउँदै भङ्गाहा-४ रामनगरका ७५ वर्षीय दीपबहादुर फुँयालले भन्नुभयो, “त्यसयता इनार सुक्दै गएपछि भित्र सानाकोठी थप्दै लगेर अहिले इनार ४० हात गहिरो भइसकेको छ ।” पानी सुक्दै गएपछि इनार गहिर्‍याउँदै लगिएसँगै पानीको सतह झन्-झन् गहिरिँदै गएको फुँयालको भनाइ छ ।

पछिल्ला वर्षहरूमा प्राकृतिक सम्पदा (पहाडी थुम्का, नदी किनार, नदीउकास र वनक्षेत्र)को अनियन्त्रित दोहन बढेसँगै सन्तुलित वर्षा हुन छाडेको हुँदा पानीका स्रोतका मुहान गहिरिँदै गएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन बढेसँगै वातावरणीय सन्तुलन खलबलिएको छ । यसले गर्दा अल्पवृष्टि, अनावृष्टिसँगै बाढीपहिराका समस्या बढ्दैछन् । चुरे क्षेत्रका खोल्साखोल्सीको व्यवस्थापन हुन नसक्दा त्यहाँबाट बाढीसँगै झर्ने गेगर्‍यान नदीमा थुपरिने गर्दा कतिपय बस्ती नदी सतहभन्दा होचिएर डुबानमा र सिरानका बस्ती कटानको जोखिममा पर्ने गरेका यादव बताउनुहुन्छ । यसैगरी यसको प्रतिकूल प्रभाव जलाधार क्षेत्रमा पर्दा यस्ता क्षेत्र सुक्खा बगरमा परिणत हुँदैछन् ।

“यसको स्थायी समाधानका लागि प्राकृतिक सम्पदाको सन्तुलित उपयोग, सघन वृक्षरोपण, खोल्साखोल्सी व्यवस्थापन गरेर गेगर्‍यान नदीमा नझर्ने व्यवस्था र ठाउँ-ठाउँमा पानी पुनःभरणका लागि पोखरी निर्माणमा लाग्नुपर्छ”, यादवले भन्नुभयो । पूर्वपश्चिम राजमार्ग माथि (उत्तर)को चुरे पहाडी क्षेत्रमा खनिने पोखरीले तलसम्मकै जमिनको सतहमा पानी रसाउँदै गएपछि इनार, बोरिङ सुक्ने समस्या घट्दै जाने यादवको भनाइ छ । यस कार्यमा पूर्वपश्चिम राजमार्ग वरपरका स्थानीय तहले संयुक्तरूपमै पहलकदमी बढाए यो बढी प्रभावकारी हुने यादवले बताउनुभयो ।

धनुषाको मिथिला र महोत्तरीको बर्दिबास र गौशाला नगर क्षेत्रमा पानी पुनःभरणका एक सय ८८ पोखरी खनिएका छन । खोल्सी व्यवस्थापन र पानी पुनःभरणका पोखरी बनाउन महोत्तरीका मात्र नभएर कमला पश्चिम र बागमती पूर्वका धनुषा र सर्लाहीका स्थानीय तहले पनि तत्काल पहलकदमी बढाउनुपर्ने देखिन्छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?