लुम्बिनी र कोसी प्रदेशको जित

हिमालय टाइम्स
Read Time = 4 mins

कैलाली । लुम्बिनी र कोसी प्रदेशले कैलालीको धनगढीमा जारी सुदुरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पारेका छन् । फाप्ला क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई १५ रनले हरायो । अर्को खेलमा कोसीले गण्डकीलाई पराजित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बीनी प्रदेशले २९ दशमलव चार ओभरमा सबै विकेट क्षतिमा १४० रन बनाएको थियो । लुम्बीनीका लागि सन्तोष यादवले ४५ रन र आशिष ओलीले २२ रन बनाउनुभयो । सुदुरपश्चिमका लागि आशिष शाही र अशोक धामीले दुई दुई विकेट लिनुभयो । प्रति उत्तरमा सुदुरपश्चिम प्रदेशले २८ दशमलव चार ओभरमा सबै विकेट क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो ।

सुदुरपश्चिमका लागि नरेन्द्र भट्टले ३२ रन, ऋतिक थापाले २५ रन र मेट्रिक थापाले अविजित २२ रन बनाउनुभयो । लुम्बीनीका लागि आशिष ओलीले चार विकेट लिनुभयो । सागर गैरे, कमरान अहमाद र सन्तोष यादवले एक एक विकेट लिनुभयो । खेलमा चार विकेट लिएका लुम्बीनीका आशिष ओली प्लेयर अफ द म्याच हुनुभयो । उहाँले नगद दुई हजार प्राप्त गर्नुभयो ।

दोस्रो खेलमा कोसी प्रदेशले बागमति प्रदेशलाई १६ रनले पराजित गर्यो । कोसी प्रदेशले टस जितेर पहिले ब्याटिङ गर्दै २८ दशमलव चार ओभरमा सबै विकेट क्षतिमा १५१ रन बनाएको थियो । कोसीका लागि दिपु भुजेलले ३७ रन, अलिश मण्डलले २६ रन र आशिक मगरले अविजित २२ रन बनाउनुभयो । बागमति प्रदेशका लागि सुविन हाडाले चार विकेट लिनुभयो । त्यस्तै अर्थव पौडेल र सार्थक धितालले दुई दुई विकेट लिनुभयो ।

प्रतिउत्तरमा बागमतिले २८ दशमलव २ ओभरमा सबै विकेट क्षतिमा १३५ रन मात्रै बनाउन सक्यो । बागमतिका लागि रोशन विकले २१ रन र सुयांशु कोईरालाले २० रन बनाउनुभयो । कोसीका लागि कृतिक कामतले ४ विकेट लिनुभयो । प्रतिश पौडेल र आशिक मगरले दुई दुई विकेट लिनुभयो । चार विकेट लिनुभएका कोसीका कृतिक कामत प्लेयर अफ द म्याच हुनुभयो । उहाँले नगद दुई हजार पाउनुभयो ।

प्रतियोगितामा बिहीबार पहिलो खेलमा लुम्बीनी प्रदेश र कर्णाली प्रदेश तथा तथा दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै, म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?