आप्रवासन नीति परिवर्तन जरुरीः विश्व बैंक

Read Time = 3 mins

काठमाडौं । विश्व बैंकले निम्न तथा मध्यम आय भएका देश समृद्ध बनाउन उचित आप्रवासन नीतिमा जोड दिएको छ । विश्वव्यापीरूपमा ज्येष्ठ नागरिकको जनसंख्या वृद्धि भइरहेका सन्दर्भमा विकसित देशमा युवाको जनसंख्याभन्दा ज्येष्ठ नागरिकको संख्या बढी हुँदा ती देशमा वैदेशिक कामदारको आवश्यकता बढ्दै गएको बताइएको छ । विकसित राष्ट्रमा युवा संख्यामा कमी आउनु र विकासोन्मुख राष्ट्रले युवाको क्षमता पहिचान गर्न नसक्दा बजारमा कामदार अभाव र बेरोजगारी दर एकसाथ बढ्दै गएको भन्दै उल्लेखित दुई समस्या समाधानका लागि उपयुक्त आप्रवासन नीति निर्माण गर्नु आवश्यक रहेको विश्व बैंकले उल्लेख गरेको छ ।

विकासोन्मुख राष्ट्रमा विद्यमान रहेको बेरोजगारी समस्या समाधान गर्न र देशलाई समृद्ध बनाउन आप्रवासन एक शक्तिशाली उपाय रहेको विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भयान ट्रोत्सेनवर्गले बताउनुभएको छ । बेरोजगार भई बसेका युवाहरू रोजगारीका लागि अर्को देश वा रोजगारी दिने देश जाँदा त्यसको फाइदा दुवै देशलाई हुने उहाँको भनाइ छ । आगामी समयमा काम गर्न सक्ने युवा संख्या क्रमशः कम हुँदै जानेछ । विश्व बैंकका अनुसार हाल कुल जनसंख्याको २.५ प्रतिशत अर्थात् १८ करोड ४० लाख मानिस देशबाहिर बसोबास गरिरहेका छन् ।

देश छाडेर अर्को देशमा गएर काम गर्ने कुल मानिसमध्ये ४३ प्रतिशत विकासोन्मुख राष्ट्रका छन् । हालको आप्रवासन नीति तथा नियमले प्रभावकारीरूपमा काम गर्न नसकेको विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले बताउनुभएको छ । खासगरी विदेशी कामदार आहृवान गर्ने देशको हितमा हालका आप्रवासन नीति भएकाले कामदारले विभिन्न समस्या भोग्नुपरिरहेको बताइएको छ । आगामी दिनमा दुईदेशीय बैठक बसी कामदारको सुरक्षा, कामका लागि विदेशिनुअघि आवश्यक पर्ने सीपका विषयलाई ध्यानमा राखी दुईपक्षीय वा बहुपक्षीय बैठक बसी सुरक्षित आप्रवासन नीति ल्याउनुपर्ने विश्व बैंकको सुझाव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?