प्रवद्र्धनात्मक कार्यक्रमसाथ २७ औँ चिया दिवस मनाइने

Read Time = 6 mins

काठमाडौं । गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ भन्ने नाराका साथ वैशाख १५ र १६ गते २७औँ राष्ट्रिय चिया दिवस मनाइने भएको छ । उद्योग वाणिज्य तथा तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले विभिन्न कार्यक्रम आयोजना गरी इलामको फिक्कलमा चिया दिवस मनाउने भएको हो ।

दिवसका सन्दर्भमा अघिल्लो दिन बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा विभिन्न राष्ट्रबाट सहभागी चियाका क्रेता र बिक्रेतालगायत विशिष्ट व्यक्तिको उपस्थितिमा काठमाडौंमा चौथो अन्तर्राष्ट्रिय चिया उत्सव आयोजना गरिने बोर्डले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । चिया उत्सवका अवसरमा नेपाली अर्थोडक्स चियामा लागू हुने ‘ट्रेसाविलिटी प्रणाली’ सुरुवातसँगै राष्ट्रिय युवा चिया उद्यमीलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभएको छ ।

यस वर्षको चिया दिवसको मूल समारोह भने विदेशी क्रेताहरूको उपस्थितिमा चिया प्रदर्शनी, टि टेस्टिङ, चिया बगैंचा अवलोकन, नेपाल र विदेशी चिया व्यापारीबीच व्यापारिक बैठकलगायत विविध कार्यक्रम इलामको फिक्कलमा आयोजना गरिने उहाँले जानकारी गराउनुभयो ।
बोर्डका अनुसार पछिल्ला वर्ष चिया निर्यात बढेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा तीन अर्ब ७९ करोड ७१ लाखको ११ हजार नौ सय २० मेट्रिकटन चिया निर्यात भएकोमा चालु आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ हजार चार सय ९४ मेट्रिकटन चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार आठ सय २५ मेट्रिकटन रहेकोमा २०७८/०७९ मा बढेर १३ हजार आठ सय ८५ मेट्रिकटन पुगेको छ, जसले गर्दा अघिल्ला वर्षभन्दा चियाको आयात पनि ४० प्रतिशतभन्दा बढीले घटेको छ ।

विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मुख्य आधार रहेको चिया उद्योगका अगाडि गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय बजार, व्यावसायिक तथा दिगो खेती प्रविधि, अनुसन्धान एवं विकासका थुप्रै चुनौती रहेको बोर्डले जनाएको छ । नेपाली चिया ९० प्रतिशतभन्दा बढी निर्यात भारतसँग रहेकोमा प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधा-व्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चिया कमसल रहेको तथा मिसावटयुक्त रहेको जस्ता आरोप खेप्नुपरेकाले नेपाली चिया गुणस्तरमा अब्बल हुँदाहुँदै पनि न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताका कारण नेपाली चिया क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकिरहेको छैन ।

उत्पादन सुरु भएको डेढ सय वर्ष नाघिसक्दा पनि नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधिसम्बन्धी विषयमा आवश्यक अनुसन्धानात्मक कार्यहरू नहुँदा नेपालको आफ्नै चियाको जात एवं प्रविधि विकास हुन सकिरहेको छैन । आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार नेपालमा २०,२१९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार तीन सय ७९ मेट्रिकटन चिया उत्पादन भएको छ भने १५ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाका विभिन्न मूल्य शृंखलामा संलग्न रहेका छन् ।

चियाको आन्तरिक बजार प्रवद्र्धन गरी खुला बजार नीतिअनुरूप दीर्घकालीन समस्या समाधानका लागि चीन, रुस, अमेरिका, युरोपियन मुलुकसँग सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमार्फत् नेपाली चियाको ब्राण्ड प्रवद्र्धन गर्न सकेमा हाल वार्षिक करिब चार अर्ब बराबरको चिया निर्यात हुँदै आएकोमा त्यसलाई बढाएर १० देखि १२ अर्बको निर्यात मूल्य बनाउन सकिने सम्भावना रहेको बोर्डको दाबी छ । यस वर्ष चीनमा सम्पन्न भएको चियाको गुणस्तरसम्बन्धी प्रतिस्पर्धामा सहभागी १६ नेपाली चियाका नमुनामध्ये छवटा गोल्ड र चारवटा सिल्भर अवार्ड जित्न सफल भएका थिए ।

इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले १९२० मा इलाममा बिरुवा रोपण गरेपछि चिया खेतीको सुरुवात भएको मानिन्छ । नेपाली चियाको इतिहास करिब एक सय ६० वर्ष पुरानो रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?