चुनाव जिते उपेन्द्रले, राजनीति जिते राउतले

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 11 mins

बारा । बाराको निर्वाचन क्षेत्र नम्बर-२ मा भएको उपनिर्वाचनमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विजयी हासिल गर्नुभएको छ । यादवले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पाँच हजार ८१ मतको अन्तरले पराजित गर्दै जित हासिल गर्नुभएको हो । यादवले २८ हजार ४१५ मत प्राप्त गर्दा जनमतका कुशवाहाले २३ हजार ३३४ मत पाउनुभएको थियो । यसैगरी, एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले दुई हजार ८२९ मत पाउनुभएको थियो । पाँचौँ स्थानमा रहनुभएका आमजनता पार्टीका अरुण ज्ञवालीले दुई हजार ७३८ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन क्षेत्र नम्बर-२ मा भएको उपनिर्वाचनमा जसपका यादव, जनमतका कुशवाहा र नेकपा एमालेका पौडेलबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको थियो । एक लाख पाँच हजार २४८ मतदाता रहेको यो क्षेत्रमा ६८ हजार ८८८ मत खसेको थियो । पाँच दलीय गठबन्धनबाट निर्वाचनमा होमिनुभएका यादवको जित त्यति सहज पनि देखिएको थिएन । नेपाली कांग्रेस र जसपाको पकड भएको क्षेत्रको रूपमा आफ्नो पहिचान बनाएको यो क्षेत्रमा राष्ट्रिय अध्यक्ष जस्तो व्यक्तिले झिनो मतको अन्तरले विजय हासिल गर्नु भनेको विपक्षीको जित भएको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

२०७९ साल मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट चुनाव लड्नुभएका राजेश साहले दुई हजार ७२५ मत पाउनुभएको थियो । न कुनै संघ नत कुनै संगठन रहेको जनमत पार्टीले एक्लै चुनाव लडेर २३ हजारभन्दा बढी मत ल्याउनु भनेकै जनताले समेत परिवर्तनतिर आफनो पाइला अगाडि सारिसकेको संकेत दिएको बाराका वरिष्ठ पत्रकार सुजितकुमार अर्यालले बताउनुभयो । जनताले पुराना पार्टीहरूले आश्वासन मात्र बाँडे देश र जनताको लागि केही गर्न नसकेको महसुस गरी परिवर्तन तिर पाइला सारेको विगतको चनावले प्रष्टाइसकेको छ, उहाँले हिमालय टाइम्ससँग भन्नुभयो, ‘उपनिर्वाचनमा पनि त्यही संकेत देखिएको छ । मंसिरमा भएको चुनावमा क्षेत्र नम्बर २ मा तीन हजार मतभन्दा कम पाएको जनमत पार्टीले एकैचोटि २३ हजारभन्दा बढी मत ल्याउनु र जसपाका राष्ट्रिय अध्यक्षलाई समेत जित हासिल गर्न हम्मेहम्मे पार्नु भनेकै जनताले परिवर्तन चाहेको कुरा संकत गरिसकेको उहाँले जानकारी दिनुभयो ।’

ठूला पार्टी भनाउँदाहरूले जनता ठग्ने काम मात्र गरे, उहाँले भन्नुभयो, ‘देशको अवस्था दयनीय बन्दै गएको छ । बेरोजगारीले देश थलिएको छ । शिक्षा स्वास्थ्य लगायतको अवस्था गम्भीर बन्दै गएको छ । तर, नेताहरू नातावाद, जातिवाद, कृपावाद र वंशवादमा मात्र रुमलिएका छन् । लामो समयदेखि राष्ट्र विकासको अभिभारा बोक्ने पार्टीको पर्खाइमा रहेका मतदाताहरूले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र मधेशमा सिके राउतको जनमत पार्टीमा कुशलताको अनुभूति गर्दै आफ्नो जनादेश दिएका छन् । आउने भविष्यमा यी दुवै पार्टीको उज्ज्वल भविष्य देखिएको उहाँको अनुमान रहेको छ ।’

भर्खर उदाएका पार्टीहरूमाथि जनताको विश्वास बढ्नु पुराना पार्टीहरूले काम नगर्दाको परिणाम हो, उहाँले भन्नुभयो, ‘अब पनि ठूला पार्टीका नेताहरू नसचिए भविष्यमा जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीको हुरीले सबैलाई उडाउने संकेत देखिएको उहाँले बताउनुभयो ।’

राजनीतिक स्थिरता र राष्ट्रिय समस्या हल गर्न गठबन्धन आवश्यक : यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थिरता र राष्ट्रिय समस्या हल गर्न गठबन्धनलाई निरन्तर रूपमा अगाडि बढाउन आवश्यक भएको बताउनुभएको छ । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उपनिर्वाचनमा विजय भएपछि सञ्चारकर्मीसँग नवनिर्वाचित सांसद यादवले राष्ट्रिय समस्याको समाधान राजनीतिक स्थिरतासँग जोडिएकाले गठबन्धनलाई निरन्तर राख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको राष्ट्रिय समस्याको समाधान राजनीतिक स्थिरतासँग जोडेर हेरेका छौँ । राजनीतिक स्थिरता र राष्ट्रिय समस्या हल गर्नका लागि यो गठबन्धनलाई निरन्तर रूपमा अगाडि बढाउनुपर्छ । बाराका जनताले निराश हुनु पर्दैन बाँकी काम गरेर देखाउनुपर्छ ।’

यस्तै, अध्यक्ष यादवले उपनिर्वाचनमा विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको पनि बताउनुभएको छ । उहाँले नेपाल सार्वभौमिकता, अखण्डता र एकतालाई तोडेर विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको टिप्पणी गर्नुभयो । अध्यक्ष यादवले भन्नुभयो, ‘नेपालमा जन्मिएका कोही पनि नागरिक बाहिरिया हुन्छ ? नेपालमा जन्मिएका सबै नेपाली धर्तीपुत्र हुन् । अमेरिका र बेलायतबाट आएका पो बाहिरिया हुन् । नेपालभित्रका नेपाली बाहिरिया हुनै सक्दैनन् । तिनलाई बाहिरिया भन्नु नै गलत सोच र प्रदूषित मानसिकता हो ।’

अध्यक्ष यादवले मधेशका जनतालाई जात–जातमा लडाएर विद्वेष फैलाउने प्रयास गर्नेहरू नराम्ररी परास्त भएको बताउनुभयो । उहाँले जनमत पार्टीका उम्मेदवारले दोस्रो लोकप्रिय मत प्राप्त गरे पनि त्यो जनमत पार्टी एक्लैको मत नभएको पनि दाबी गर्नुभयो । उहाँले आफूलाई बाहिरिया भनेर प्रचार गरेकोमा पनि आक्रोश व्यक्त गर्नुभयो । यसैबीच, विजयी भएपछि बारामा बुधबार हात्तीसहितको जुलुस निकालिएको छ । बारा क्षेत्र नम्बर २ मा जसपाका नेता, कार्यकर्ता, समर्थक र मधेशका मुख्यमन्त्री सरोजकुमार यादव र अन्य मन्त्रीहरूसमेत विजयी जुलुसमा सहभागी हुनुभएको थियो ।

जनमतले जनताको माया पायो : राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिनुभएको छ । ‘जसपा अध्यक्ष उपेन्द्र यादव बारा प्रतिनिधिसभा क्षेत्र २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ । ‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्र प्रति जिम्मेवारी सहृदयताका साथ बहन गरेका छन् ।’ उहाँले उपनिर्वाचनमा जनमत पार्टीले पनि जनताको माया पाएको बताउनुभयो । ‘जनमत पार्टीले समेत जनताको अगाध माया पाएको छ । हामीलाई मतदान गर्नु हुने सम्पूर्ण बारावासीलाई कोटीकोटी प्रणाम र जनमतका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धेरै-धेरै धन्यवाद ।’

रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत
बारा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । मतगणनाको अन्तिम परिणामअनुसार खरेलले दुई हजार ८२९ मत पाउनुभएको छ । बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ । जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उहाँको जमानत जफत भएको हो । बारा-२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन् । जसमा उपेन्द्र यादव, शिवचन्द्र कुशवाहा र पुरुषोत्तम पौडेल हुनुहुन्छ । बाँकी ३१ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?