उपनिर्वाचनले निर्दिष्ट गर्न खोजको अबको राजनीति

प्रमुख दलहरूलाई आगामी चुनाव अझै कठिन हुनसक्ने विज्ञको टिप्पणी

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । निर्वाचनमा भाग लिने दलहरूको प्रमुख ध्येय नै जित्ने हुन्छ । अझै लामो समयदेखि मूलधारको राजनीतिक र सत्ताको वरिपरि रहेकाहरूलाई चुनाव जित्नु अनिवार्यजस्तै हो । वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा सहभागी सबैजसो दलहरूको योजना जित्ने नै थियो । अझ दशकौँ लामो राजनीतिक विरासत बोकेका नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता प्रमुख दलहरूका लागि त यो उपचुनाव प्रतिष्ठाकै लडाइँ थियो । तर, नतिजा ठिक उल्टो आइदियो । तीन क्षेत्रमा भएको उपचुनावमा कांग्रेस-एमाले त पत्तासाप नै भए । कांग्रेसले गत मंसिरमा भएको निर्वाचनमा जितेको एकसिट पनि गुमायो । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले बाजी मार्नुभयो । जबकि गत निर्वाचनमा तनहुँ–१ बाट कांग्रेसका रामचन्द्र पौडेल विजयी हुनुभएको थियो । उहाँ राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारले गत निर्वाचनको जति मत ल्याउन सक्नुभएन । तनहुँ कांग्रेसले यसपालि पनि जित्ने आँकलन गरेको थियो । कांग्रेस एक्लै चुनावमा लडेको थिएन । उसलाई सत्तारूढ नेकपा (माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समेत साथ दियो । चार-चारजना प्रधानमन्त्रीले तनहुँ पुगेर मत मागेका थिए । कांग्रेस उम्मेदवारले जिते मन्त्री बनाउने आश्वासन दिएका थिए । दल, तिनका शीर्ष नेताहरूको दलबल एकसाथ भएर के गर्नु ? मतदाताले साथ दिएनन् । कांग्रेस र रास्वपाका मत बाँडिदा आफूले जित्ने एमालेको दाबी थियो । एमालेले पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको थियो । तर, एमाले उम्मेदवारले विगतको भन्दा आधा कम मत ल्याए ।

कुरा तनहुँको मात्रै होइन । उपनिर्वाचनमा भएका तीनै क्षेत्रमा मतदाताले फरक सन्देश दिएका छन् । चितवन-१ मा रास्वपाका रवि लामिछाने विगतभन्दा बढी मत ल्याएर विजयी हुनुभयो । कांग्रेस-एमालेले विगतको मतसमेत जोगाउन सकेनन् । उनीहरूकै गढ मानिएका क्षेत्रमा कम मत आयो । खासमा अधिकांशले यसपालि रविको भोट घट्ने आँकलन गरेका थिए । बारामा भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्नुभयो । त्यहाँ रास्वपा उम्मेदवारले पाएको मत न्यून छ । तर, बारामा पनि उपेन्द्रलाई चुनाव जित्न सहज भएन । पहिलो उहाँ एक्लै चुनावमा जानै सक्नुभएन । उहाँलाई कांग्रेस र माओवादीजस्ता ठूला दलको समेत साथ थियो । त्यति हुँदा हुँदै पनि उहाँले सामान्य मतान्तरले चुनाव जित्नुभयो । उहाँलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले चुनौती दिनुभयो । यसअघि गत मंसिरमा पराजित यादव उपचुनावबाट पुनः निर्वाचित हुनुभएको छ । समग्रमा यो उपचुनावमा रास्वपाले गुमेको एक सिट मात्रै फिर्ता ल्याएन सँगै एक सिट पनि थपेको छ । कांग्रेसले एक सिट गुमाएको छ भने एमालेले गत चुनावमा पाएको मतसमेत जोगाउन सकेन ।

उपचुनावको मत परिणाम आमरूपमा अप्रत्यासित थिएन । चितवनमा रविले जित्ने पक्काजस्तै थियो । तनहुँ र बाराको परिणामबारे भने अलिकति भिन्न आँकलन गरिएको थियो । तर, भैदियो उल्टो । हुन त यो जनमत निर्माण भएको भर्खरै होइन । गत मंसिरको निर्वाचनभन्दा केही महिनाअघि मात्रै दर्ता भएको रास्वपाले अप्रत्यासित २० सिट जितेको थियो । जुन परम्परागत राजनीतिक दलविरुद्ध मतदाताको ठूलो विद्रोह थियो । देशमा २००७ सालपछि मात्रै तीन तीनपटक व्यवस्था फेरिए । राणातन्त्र, पञ्चायत र राजतन्त्र सकिएर गणतन्त्र आयो । तर, जनताको जीवनस्तर फेरिएको छैन । जति नेताको फेरिएको छ । सात दशक बढी समयदेखि नेपाली राजनीतिमा सक्रिय यी दलहरूले अपेक्षित काम गर्न नसकेको भन्दै जनता निराश छन् । उनीहरूको नैराश्यता आंंशिक रूपमा मतमार्फत प्रकट भएको मात्रै हो । यो क्रम अझै बढ्दै जाने देखिन्छ । आगामी २०८४ सालमा हुने निर्वाचनमा अहिलेका प्रमुख दलहरूलाई निकै कठिन हुने आँकलन राजनीतिक विश्लेषकहरूको छ । उनीहरू दलहरू सुध्रिनुपर्ने बताउँछन् । तर, जनमत यति विमुख भइसकेको छ कि के सुधार्ने, कसरी सुधार्ने भन्नेसम्म टुंगो छैन । अब जनताले आश्वासन पत्याउनेवाला छैनन् । गरेर देखाउन के काम गर्ने ? मतदाताबीच आकर्षण गुमाउँदै गएका प्रमुख दलहरूलाई नयाँले प्रतिस्थापन गर्ने खतरा उपचुनावको परिणामले देखाएको छ । यिनीहरूलाई आगामी चुनावमा अझै कठिन हुने देखिन्छ ।

पुराना दल र नेतृत्वप्रति बढ्दो वितृष्णाको संकेत : डा. भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो निर्वाचनमा नयाँ पार्टीहरूको उदय सकारात्मक भएको बताउनुभएको छ । उपनिर्वाचनको नतिजापछि प्रतिक्रिया दिँदै पूर्वप्रधानन्त्रीसमेत रहनुभएका भट्टराईले नयाँ र वैकल्पिक शक्तिको पैरवीकर्ताका नाताले रास्वपा, जनमतलगायत पार्टीले ल्याएको मत सकारात्मक भएको बताउनुभयो । सबैले एकअर्काका अनुभवबाट सिक्दै देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्टता अनुकूल नयाँ/वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्नुपर्ने उहाँको भनाइ छ । उपनिर्वाचनको परिणामले पुराना दल र नेतृत्वप्रति बढ्दो वितृष्णाको संकेत गरेको उहाँले बताउनुभयो । ‘उपनिर्वाचनको परिणामले पुराना दल र राजनीतिक नेतृत्वप्रति बढ्दो वितृष्णाको संकेत गरेकोमा कुनै शंका रहेन,’ उहाँले भन्नुभएको छ, ‘अबको विमर्श पुरानाको सही विकल्पबारे हुनुपर्ला । नत्र कराइबाट उम्केको माछा भुंग्रोमा भनेजस्तो हुनेछ ।’

हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको प्रतिक्रिया दिनुभएको छ । उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै महामन्त्री शर्माले देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समयअनुसार आफूलाई बदल्नुपर्ने उहाँले बताउनुभयो । पार्टी रूपान्तरणमा नयाँ ढंगले जुट्ने उहाँको भनाइ छ । ‘उपचुनावको परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ,’ उहाँले भन्नुुभएको छ, ‘देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समयअनुरूप आफूलाई बदल्नुछ ।’

कांग्रेस-कम्युनिष्टलाई मात्रै होइन राजावादीलाई पनि राम्रो शिक्षा दिएको हुुनुपर्छ : राजनीतिक विश्लेषक खतिवडा
राजनीतिक विश्लेषक डम्बर खतिवडाले उपनिर्वाचनको परिणामले कांग्रेस-कम्युनिष्टलाई मात्रै होइन राजावादीलाई पनि राम्रो शिक्षा दिएको बताउनुभयो । राजा फर्काउने अभियानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इंगित गर्दै उहाँले राजावादीलाई पनि राम्रो शिक्षा दिएको बताउनुभयो । ‘उपनिर्वाचन परिणामले कांग्रेस-कम्युनिष्टलाई मात्रै हैन, राजावादी मित्रहरूलाई पनि राम्रो शिक्षा दिएको हुनुपर्छ,’ उहाँको टिप्पणी छ, ‘देख्नुभो नेपाली जनताको मुड ? खुब राजा फर्किनै लागे भन्नुहुन्थ्यो नि ? कट्यो कतै पाँच सय भोट ? फोकटमा विचारभन्दा माथि देश भन्यो, साथीभाइलाई धोका, आफैँलाई दुःखको भारी ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?