पार्टी अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै एमालेद्वारा सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार सिंहदरबारमा एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुलुकको शान्ति सुरक्षामा अत्यन्त ठूलो चुनौती देखापरेको भन्दै शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न ध्यानाकर्षण गराएका हुन् ।

झापामा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास भएको र उक्त घटनामा संलग्नलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याई कारबाही गर्न ध्यानाकर्षण गराइएको एमाले नेता राजन भट्टराईले जानकारी दिनुभयो । उहाँले यस्ता प्रवृत्तिलाई राज्यकै तर्फबाट स्वयं प्रधानमन्त्रीले प्रोत्साहन गर्न खोजेको देखिएको आरोपसमेत लगाउनुभयो । त्यस्तै, काठमाडौं महानगर वडा नम्बर ६ सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गर्न तदारुकता नदेखाएकाले छिटो भन्दा छिटो घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन पनि माग गरिएको उहाँले बताउनुभयो ।

एमालेका नेताहरूको भेटमा मन्त्री श्रेष्ठले घटनाप्रति सरकार गम्भीर रहेको र छिटोभन्दा छिटो दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको भट्टराईले जानकारी गराउनुभयो ।

युवा संघद्वारा भत्र्सना
राष्ट्रिय युवा संघ, नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापामा भएको ढुंगामुढा प्रहार लगायतका क्रियाकलापको भत्र्सना गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभएको छ । युवा संघले अध्यक्ष ओलीमाथिको आक्रमणको घोर निन्दा गर्दै उक्त किसिमको अराजक गतिविधिको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

भौतिक हमलामा प्रचण्ड-माधवका कार्यकर्ता : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा आफू र प्रहरी सुरक्षाकर्मी माथिको भौतिक हमलामा प्रचण्ड-माधवका कार्यकर्ता संलग्न रहेको दाबी गर्नुभएको छ । एमाले इलाम जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक उद्घाटनका लागि इलाम जाने क्रममा पूर्वप्रधानमन्त्री ओलीलाई आन्दोलनकारीले अवरोध प्रयास गरेका थिए । त्यसक्रममा प्रहरी सुरक्षाकर्मी घाइते भएका छन् ।

अध्यक्ष ओलीले प्रहरीलाई हड्डी भाँच्ने क्रममा पक्राउ परेकाहरूको समर्थनमा माओवादी र नेकपा एसका नेताहरू छुटाउँछौँ भन्दै गएको बताउनुभयो । अध्यक्ष ओलीले एमालेले सहनुको अर्थ कमजोर भएर होइन भन्दै प्रतिकार गर्नुपरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिनुभयो । ओलीले भन्नुभयो, ‘ढुंगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरू को हुन् ? प्रदेशको नाम के राख्ने कोशी राख्ने कि सगरमाथा राख्ने ? ड्युटीमा खटिएको प्रहरी हवल्दारलाई के मतलव ? जागिर खाएर ड्युटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन् । अर्को हवल्दारको हड्डी भाँचिएको छ । यो राजनीति हो ? यिनीहरूले हो कोशी प्रदेश बनाएको ? यी मान्छेहरूलाई समाउँदा प्रचण्ड र माकुनेका मान्छे कुदेर पुगेछन् छुटाउँछौँ भन्दै ।’

अध्यक्ष ओलीले कोशी प्रदेशमा भइरहेका अराजक घटनाहरूमा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखिएको भन्दै आफूहरू सरकारको व्यवहार हेरिरहेको बताउनुभयो । ओलीले भन्नुभयो, ‘यी घटनामा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखियो । हामी सरकारको व्यवहार हेर्छौं । हामी कसैसँग निहुँ खोज्न जाँदैनौँ, झगडा गर्न जाँदैनौँ । तर, अति भयो भने जवाफी कारबाही गर्नुपर्ने हुन्छ । त्यो अलिकति महँगो पर्न सक्छ । जो प्रहरी भाइहरू घाइते भएर अस्पतालमा भर्ना भएका छन् उनीहरूमाथिको आक्रमणमा प्रचण्ड-माधवका कार्यकर्ता संलग्न छन् ।

अध्यक्ष ओलीले आफूलाई इलाम नजानसमेत धम्की आएको भन्दै हिम्मत भए सामुन्ने पर्न चेतावनी दिनुभयो । बैठकमा उपाध्यक्ष सुवास नेम्वाङ लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?