सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको संकेत

भ्रष्टाचार अन्त्य गर्ने विषय न्यूनतम साझा कार्यक्रमबाट हटाएकोमा आपत्ति

नारायण भण्डारी
Read Time = 9 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताउनुभएको छ । सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताउनुभएको हो । उहाँले आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरूले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकोमा आपत्ति रहेको बताउनुभयो । रास्वपा सभापति लामिछानेले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयोे, ‘हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ । त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीरभन्दा पनि गम्भीर आपत्ति छ । किनभने मतदाताले हामीलाई केही थान मान्छेलाई संसद्मा पठाएको होइन । निश्चित एजेण्डासहित एउटा म्याण्डेड दिएर पठाएको हो । जुन वाचा गरेर हामी आएका थियौँ अझ निर्मम हुनुपर्ने कुरालाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भीर आपत्ति छ । यसमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्छौँ ।’

उहाँले आफूहरूले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सोही क्रममा लामिछानेलाई पत्रकारले माओवादी र कांग्रेसभन्दा एमालेसँग बढी कम्फर्टेबल हो ? भनेर प्रश्न सोधेका थिए । जवाफमा लामिछानेले एमालेसँग निकट र कम्फर्टेबेल रहेको कुरालाई गलत भाष्य भएको टिप्पणी गर्नुभयो । ‘एमालेसँग निकट रहेको कुरा गलत हो, गलत भाष्य हो’, उहाँले भन्नुभयोे, ‘तर हामी आफैँसँग मात्रै कम्फर्टेबल छौँ । हिजो सरकारमा रहँदा एमालेसँग टाँसियो कि भन्ने थियो । तर, एमालेभन्दा पहिले हामीले सरकारबाट बाहिरिने निर्णय गरौँ ।’

उहाँले त्यसक्रममा आफ्नो बचाउ गर्दै राष्ट्रपति निर्वाचनमा पनि एमालेले सारेका उम्मेदवारलाई भन्दा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको बताउनुभयो । ‘राष्ट्रपति निर्वाचनमा गठबन्धनलाई सघायौँ । उपराष्ट्रपतिको निर्वाचनमा महिला उठाएकाले जनमतलाई सघायौँ’, उहाँले भन्नुभयोे, ‘एजेण्डाका आधारमा हाम्रो सबैसँग सहकार्य हुन्छ ।’ उहाँले अहिले आफू कुनै मन्त्रालय लिने र सरकारमा जाने पक्षमा नरहेको पनि बताउनुभयो । ‘सरकारमा जाने र मन्त्रालय लिने कुरा अहिले असम्भव छ । यथास्थितिमा सरकारमा गएर मैले मन्त्रालय लिने कुरा सम्भव छैन’, उहाँले भन्नुभयोे, ‘मुलुकको स्थिरताका लागि गर्नुपर्ने निर्णय फरक होला । तर, अहिले सरकारमा जाने सम्भावना एकदमै कम छ ।’

शुक्रबार सभामुख देवराज घिमिरेले चितवन-२ बाट सांसदमा निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । अर्का सांसद उपेन्द्र यादव भने काठमाडौं बाहिरै रहेकाले शपथ ग्रहणमा अनुपस्थित रहनुभयो ।

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै सरकारमा लैजानुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रूपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताउनुभयो । उहाँले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले जनताले ठूला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताउनुभयो । उहाँले नेपालीहरू कोही पनि एक–अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताउनुभयो । उहाँले सबै राजनीतिक दल र नेताहरू गरिबीको विरुद्धमा एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले देश आर्थिक संकटमा रहेकाले सबै पार्टी प्रतिपक्षमा नबस्न आग्रह गर्नुभयो ।

रास्वपासँग सामना गर्न राप्रपा सक्षम छ : जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गर्नुभयो । उहाँले संसद् भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुनसक्ने बताउनुभयो । उहाँले अप्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामथ्र्यवान भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयोे, ‘मैले धेरै पहिला पनि भनेको थिएँ, मैले यो पालिको संसद् बडो डामाडोलपूर्ण अवस्थाको संसद् छ, जे पनि हुन सक्छ भनेको थिएँ, आज देखिएको छ । त्यो असजिलो हाम्रासामु छ, त्यसलाई हामीले सामना गर्न सक्नुपर्छ । घण्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामथ्र्यवान् छ । अत्यन्त अप्ठ्यारो परिस्थिति छ । त्यही अप्ठ्यारो परिस्थिति सामना गर्न यो पार्टी, यसको नेतृत्व सामना गर्न भनेर अघि बढेको छ । यो पार्टीले त्यो समस्या सामना गर्छ, गर्छ गर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?