प्राणी परिचय : भेडो

विनोद दाहाल वत्स
Read Time = 5 mins

म भेडो हुँ । म अत्यन्त सोझो प्राणी हुँ । मलाई अङ्ग्रेजीमा सिप (Sheep) भनिन्छ । मलाई मानिसले हजारौं वर्षदेखि घरपालुवा बनाउँदै आएका छन् । म मानिसका लागि अत्यन्तै उपयोगी प्राणी हुँ । म शुद्ध शाकाहारी प्राणी हुँ । म घाँसपात खाने गर्छु । मानिसले दिएका फलफूलका बोक्रा, तरकारी र खोले, पिठो पनि मेरा खाना हुन् ।

मलाई मानिसले बाख्रालाई जसरी बाँधेरभन्दा पनि ठूलो समूहमा खुला चहुरमा वा खर्कमा पाल्ने गर्छन् । मेरा समूहमा साँढभेडो समूहको नाइके बन्छ । ठूला लामा घुमेका सिङका कारण यो यसरी नाइके बनेर अरूमाथि हैकम जमाउँन सक्छ । हाम्रा बगालमा ठूला-ठूला भोटे कुकुर राखिएका हुन्छन् । तिनले हामीलाई नियन्त्रण गर्ने र हामीलाई मार्न आउने हिंस्रक जनावरसँग प्रतिकार गर्ने गर्छन् ।

म बाख्राकै प्रजातिजस्तो देखिन्छु तापनि मेरो स्वभाव बाख्राको भन्दा फरक हुन्छ । बाख्रो आपत्मा बेस्सरी चिच्याएर कराउँछ र खुशीमा चुप रहन्छ । म भने आपत्मा कराउँदिन, खुशीमा मात्र कराउँछु । यसले गर्दा म विपत्बाट जोगिन सक्दिनँ । म सोझो र एकोहोरो स्वभावको हुन्छु । त्यसैले मानिसहरू अरूलाई गाली गर्दा ‘भेडो जस्तो’ भनेर मसँग तुलना गर्ने गर्छन् ।

मबाट मानिसहरूले मासु, ऊन र दूध प्राप्त गर्छन् । मेरो ऊनबाट मानिसले आफूलाई उपयोगी हुने राडीपाखी आदि बुन्ने गर्छन् । मेरो मासु पनि मानिसले युगौं पहिलेदेखि खाँदै आएका छन् । यसका साथै मानिसले मेरो दूध पनि खाने गरेका छन् ।

मेरा पाठालाई ‘थुमा’ भनिन्छ । म गर्भाधारणको छ महिनापछि एक वा दुईवटा थुमा जन्माउँछु । मेरो आयु लगभग बीस वर्षको हुन्छ । मानिसले हामीलाई समूहमा पाल्छन् र खर्क सारिरहन्छन् । हामीलाई राख्ने खर्कलाई ‘भेडीचोक’ भन्ने गरिन्छ । कसै कसैले घरैमा दुई–चारवटाको सङ्ख्यामा पाल्ने गरेका हुन्छन् तर हाम्रो सामूहिक पालन नै धेरै मात्रामा हुँदै आएको छ । म भूइँघाँस, रूखका पात, बोक्रा, मुना आदि खाने गर्छु । म रूखमा लागेको झ्याउ धेरै मन पराएर खाने गर्छु । अझै पनि मेरा जातिका नाउर, झारल जस्ता प्राणीहरू जङ्गली अवस्थामै छन् ।

मबाट मानिसहरूले मासु, ऊन र दूध प्राप्त गर्छन् । मेरो ऊनबाट मानिसले आफूलाई उपयोगी हुने राडीपाखी आदि बुन्ने गर्छन् । मेरो मासु पनि मानिसले युगौं पहिलेदेखि खाँदै आएका छन् । यसका साथै मानिसले मेरो दूध पनि खाने गरेका छन् । अरू प्राणीको दूधजस्तै मेरो दूधबाट पनि उनीहरू दही, मोही, घ्यू आदि बनाउने गर्छन् । मेरो घ्यू पोषिलो हुनुका साथै औषधिका रूपमा पनि उपयोग हुने गर्छ । पोलेका घाउमा मेरो घ्यू लगाउने गरेमा दाग बस्तैन ।

मेरा पनि बाख्राकै झैँ दुईवटा थुन हुन्छन् । मैले भारी बोकेर पनि मानिसलाई सहयोग पु¥याउँदै आइरहेको छु । यसरी म मानिसका लागि एउटा उपयोगी प्राणी हुनपुगेको छु । यही कुरा बुझेर उनीहरूले मलाई वर्षौं पहिलेदेखि पाल्दै आएका छन् । मेरो नाम जोडेर मानिसहरू गीतहरू पनि गाउँने गर्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?