‘सरकारले व्यावसायिक लागत घटाउन पहल गर्नेछ’

Read Time = 5 mins

काठमाडौं । नवनियुक्त मुख्यसचिव डा. वैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग शुक्रबार भएको भेटमा उहाँले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै व्यावसायिक लागत घटाउन विशेष पहल गर्ने बताउनुभएको हो । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले मुख्यसचिव डा. अर्याललाई बधाई दिँदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको भन्दै आर्थिक विधेयक संशोधनका लागि पहल गर्न पनि मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराउनुभयो । महासंघले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक रहेको ढकालको भनाइ थियो । साथै जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगर उद्योग वाणिज्य संघले आयोजना गर्ने गरी व्यवस्था गर्नुपर्ने सुुझाव पनि उहाँले दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारको निजी क्षेत्रबारे प्रष्ट नीति हुनुुपर्ने बताउनुभयो भने उपाध्यक्षहरू सुरकृष्ण वैद्य र हेमराज ढकालले बढ्दो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यावसायिक लागत घटाउन सरकारले पहल गर्नुपर्ने बताउनुभएको थियो ।

नेपाल उद्योग परिसंघ(सिएनआई)ले पनि नवनियुक्त मुख्यसचिव अर्यालसँग भेटवार्ता गरेको छ । सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले सोही दिन मुख्यसचिव अर्यालसँग भेट गरी बधाई तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो । अध्यक्ष अग्रवालले अर्थ, उद्योग, वाणिज्य क्षेत्र बुझेको व्यक्ति मुख्यसचिव हुनुभएकोमा खुसी व्यक्त गर्दै अर्थतन्त्रको वर्तमान अवस्था चुनौतीपूर्ण रहेकाले लगानी बढाएरमात्र अर्थतन्त्र चलायमान बनाउन सकिने बताउनुभयो । सिएनआईले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग गर्ने गरी निजी क्षेत्रकै तर्फबाट पहिलोपटक ‘बजेट वाच’ कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि बजेट कार्यान्वयन अनुगमन समिति बनाउने घोषणा गरेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष अग्रवालले समितिमा परिसंघको प्रतिनिधित्व गराउन आग्रह गर्नुभयो । उहाँले मन्दीमा रहेको अर्थतन्त्रलाई गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबोटिङ नेप्लिज इकोनोमी’ अवधारणा मुख्यसचिव डा. अर्यालसमक्ष प्रस्तुत गर्दै अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने जानकारी गराउनुभयो । नवनियुक्त मुख्यसचिव अर्यालले अर्थतन्त्रका समस्या समाधानका लागि लगानी वृद्धि गर्न अपरिहार्य रहेको भन्दै पुँजीगत खर्च बढाउन आवश्यक रहेको बताउनुभयो । उत्पादनमा आधारित भएमात्र अर्थतन्त्र अघि बढ्न सक्ने भएकाले आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उहाँले बताउनुभएको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष सतिशकुमार मोर, पूर्वअध्यक्ष हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ काउन्सिल सदस्य शिवरतन शारदा, बालकृष्ण श्रेष्ठ, परिसंघ राष्ट्रिय परिषद् सदस्य अमित मोरलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?