खेलाडी उत्पादन गर्न पौडी पोखरी निर्माण

हिमालय टाइम्स
Read Time = 2 mins

नेपालगञ्ज । बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ । खजुरा गाउँपालिका-४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा ल्याएको हो । मनोरञ्जनका लागि मात्र नभई बाँकेमा पौडी खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको छ । खजुराको पर्यटन प्रवद्र्धनमा पौडी पोखरीले उल्लेख्य भूमिका निर्वाह गर्ने गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उद्यानसहित मिठा परिकारले यहाँ आन्तरिक तथा बाहृय पर्यटक बढाउनेछ, जिल्लाको ग्रामीण क्षेत्रमा खोलिने यस्ता पौडी पोखरीले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छन् । यसलाई दीर्घकालीनरूपमा संरक्षण गर्न जरुरी छ ।’
‘स्वास्थ्य र सुरक्षाका लागि, खेलाडी राष्ट्रका लागि’ नाराका साथ उक्त पोखरी सञ्चालनमा ल्याइएको उद्यानका सञ्चालक टेक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पौडी पोखरी मनोरञ्जनका लागिमात्रै नभएर खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि निर्माण गरिएको हो ।’ पोखरीको लम्बाइ २५ मिटर र चौडाइ १२ दशमलब पाँच मिटरको छ । उक्त पोखरीको गहिराइ तीन दशमलब पाँच फिटदेखि सात फिटसम्म छ भने बालबालिकाका लागि छुट्टै एक दशमलब पाँच फिट गहिराइको पोखरी निर्माण गरिएको छ ।

दुई करोडभन्दा बढी लगानीमा पौडी पोखरी निर्माण गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो । उक्त पोखरीमा प्रशिक्षणको समेत व्यवस्था गरिएको छ । प्रशिक्षक चन्दराम चौधरीले प्रशिक्षण दिनुहुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?