सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसको तयारी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौँ राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २ सयभन्दा बढी खेलाडीको सहभागिता रहने सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

ब्वाइज/गल्र्स सिंगल्स तथा टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सिंगल्समा पहिलो हुनेले १५ हजार, दोस्रोले सात हजार ५०० तथा तेस्रोले तीन/तीन हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछन् ।

पत्रकार सम्मेलनमा सोफेसका अध्यक्ष महर्जन, स्वर्णिमका संस्थापक प्रिन्सिपल सहजी पन्त र कन्सेप्टका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । स्वर्णिमका प्रिन्सिपल पन्तले विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउन शिक्षासँगै विद्यालयले खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उत्ति नै जोड दिएको बताउनुभयो ।

दोस्रो मोहन मेमोरियल अल नेपाल नेसनल इन्टरस्कुल ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेलाडी स्व. मोहन नेपालीको सम्झनामा आयोजना हुने प्रतियोगिता वैशाख २७ देखि ३० गतेसम्म हुनेछ । प्रतियोगितामा ७ कक्षामुनिका निम्न माध्यमिक र १० कक्षासम्मका माध्यमिक तहका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, पोखरा महानगरभित्रका वडास्तरीय महिला र पुरुष डबल्स तथा मास्टर्स डबल्समा समेत प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताअन्तर्गत विद्यालयस्तरका विजेतालाई आकर्षक गिफ्ट प्रदान गरिनेछ । वडास्तरीय महिला र पुरुष डबल्स विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउनेछन् । ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथिको डबल्स विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?