नेपाल प्रहरीद्वारा क्रिकेट खेलाडीलाई सम्मान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ । प्रहरीले एसिसी प्रिमियर कप २०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रहरी प्रधान कार्यालयमा सम्मान गरेको हो ।

उत्कृष्ट खेलाडीलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी, करण केसी र गुल्सन झा रहनुभएको छ ।

सम्मान कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै हालै सम्पन्न एसिसी प्रिमियर कप, २०२३ मा उत्कृष्ट प्रदर्शन गरेकामा खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र एवं संगठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न उहाँले शुभकामना दिनुभयो ।

एसिसी प्रिमियर कप २०२३ मा नेपाल प्रहरीका खेलाडीको उत्कृष्ट प्रदर्शन तथा राष्ट्रिय सम्मान अभिवृद्धिमा गरेको योगदानको नेपाल सरकारले पनि उच्च मूल्यांकन गरेको उहाँको भनाइ थियो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका खेलाडीको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्ति विकासका लागि संगठन सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

सम्मानित खेलाडीका तर्फबाट क्रिकेट खेलाडी कुशल भुर्तेलले नेपाल प्रहरी संगठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकामा धेरै गौरव महसुस गरेको बताउनुभयो । आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?