वाक् तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आठौँ  राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘आठौं राष्ट्रिय पत्रकारिता दिवसको सुखद् अवसरमा लोकतन्त्र र संविधानका पहरेदार सम्पूर्ण श्रमजीवी पत्रकारहरूमा सुख, शान्ति, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस सन्दर्भमा लोकतन्त्रको स्थापना एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दछु।

वाक् तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको स्मरण गराउँदै सञ्चारसम्बन्धि नीतिगत व्यवस्था र कानुन निर्माण गर्दा सञ्चार क्षेत्रको प्रतिनिधित्व र समझदारी कायम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। पत्रकारिता पेशाभित्र नै श्रमजीवी पत्रकारहरूले आफ्नो जीवन देख्नसक्ने परिस्थिति निर्माणका लागि सरकारले सम्भव पहल लिने विश्वास दिलाउँदै आ-आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका गर्नसमेत सम्वद्ध सबैमा अपील गर्दछु।’

आइतबार विभिन्न कार्यक्रम गरी ‘आठौं राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् भोलिको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?