अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार खरेललाई

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारबाट गीतकार किरण खरेल सम्मानित हुनुभएको छ । नेपाली राष्ट्रगानका संगीतकार अम्बर गुरुङको योगदानको कदर गर्दै पोखरेली युवा सांस्कृतिक परिवारले उहाँको नाममा राष्ट्रिय संगीत कोष स्थापना गरी पहिलो पटक खरेललाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि दुई लाख रुपैयाँ र कदरपत्र रहेको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पोखरामा आयोजित कार्यक्रममा खरेललाई पुरस्कार प्रदान गर्दै स्रष्टाको सम्मान नै लोकको सम्मान रहेको बताउनुभयो । ८५ वर्षीय गीतकार खरेलले १९ वर्षकै उमेरबाट संगीत क्षेत्रमा लाग्नुभएको थियो । उहाँका चार गीतिसंग्रह प्रकाशित छन् । फिल्म ‘माइतीघर’को ‘यो हो मेरो प्राणभन्दा प्यारो’ गीतका रचयिता किरणले सयभन्दा बढी फिल्ममा गीत लेखिसक्नुभएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले अक्षयकोषमा हाल १८ लाख रुपैयाँ जम्मा भइसकेको जानकारी दिनुभयो । सो कोषबाट प्रदान गरिने पुरस्कार नेपाली संगीत क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार भएको आयोजकको दाबी छ ।

सोही कार्यक्रममा ‘ए दूरका सितारा’ संग्रह विमोचन भएको छ । साहित्यकार सरुभक्त र किरणले परम्परागत गीति लेखनको मानक भत्काएको बताउनुभयो । गीतमा आधुनिकताको प्रयोगको सुरुवात खरेलबाट सुरु भएको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?