अख्तियारद्वारा सिंचाइ कार्यालय बुटवलका प्रमुखविरुद्ध ५३ लाखको भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडौं । बुटबलमा भूमिगत जलस्रोत र सिंचाइ निर्माणसम्बन्धी ठेक्कामा कामै नगरी रकम भुक्तानी दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटबलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इञ्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार सुक बहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पम्पहाउस, स्टोरेज ट्यांकी र वितरण प्रणाली निर्माणको ठेक्कामा हुँदै नभएको काम भएको भनी रकम भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इञ्जिनियर दास र लेखा प्रमुख नेत्रप्रसाद मरासिनी, माथि ५३ लाख ७५ हजार बिगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो । निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिलाई भने अख्तियारले ६३ लाख सात हजार रुपैयाँ बिगो मागदाबी गरी मुद्दा चलाएको छ । उनीहरूमाथि नगरेको कामलाई बढी काम गरेको देखाउन झुट्टा बिल बनाउन लगाएको आरोप छ ।

यस्तो छ विज्ञप्ति

(क) भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छा कुमार श्रेष्ठले भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन, बुटवल रुपन्देहीबाट आ.व. २०७४/0७५ मा पम्पहाउस, स्टोरेज टंकी र वितरण प्रणाली निर्माण कार्यको ठेक्‍कामा ठेक्‍का नं. 16/074-75/Nawalparasi को ठेक्का सम्झौता अनुसारको कार्यमा र ठेक्‍का नं. 18/074-75/Nawalparasi को ठेक्‍का सम्झौता अनुसारको कार्यमा फिल्डमा गरेको वास्तविक कामभन्दा नापी कितावमा नभए नगरेको कामलाई भए गरेको भनी बढी काम गरेको देखाई झुट्टा विल बनाई रु.९,३२,५४8।73 प्रथम रनिङ्‍ग बिलको भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (ग) र (ङ) ले परिभाषित गरेको कसुर गरेको पुष्टि हुन आएकोले निज इच्छा कुमार श्रेष्ठलाई बिगो रु.९,३२,५४8।73 (नौ लाख बत्तीस हजार पाँच सय अठ्चालीस रुपैयाँ पैसा त्रिहत्तर) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको सजाय र उक्त बिगो असुलउपर हुन साथै निज इच्छा कुमार श्रेष्ठले ठेक्‍काको म्याद थप तथा बीचैमा काम छोड्ने ठेकेदारलाई नियमानुसारको कारवाही नगरी भुक्तानीसमेत दिई जमानतको म्याद समाप्त भई फुकुवासमेत हुने गरी भए गरेको कामबाट हानिनोक्सानी भएको रकम, ठेक्‍का व्यवस्थापनमा बदनियतसाथ लापरवाही गरी ठेक्‍काको उद्देश्य पूरा नहुने गरी बीचैमा कामलाई अलपत्र परी, भए/गरेको लगानीको प्रतिफल शुन्य हुने गरी भए गरेको कामबाट रु.53,75,200।32 हानिनोक्सानी भएकोले निज इच्छा कुमार श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 बमोजिमको लापरबाही साथ वदनियत राखी आफूसमेतलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.53,75,200।32 (त्रिपन्न लाख पचहत्तर हजार दुई सय रुपैयाँ पैसा बत्तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 मा उल्लेख भएवमोजिम ऐ. ऐनको दफा 3 को उपदफा (1) र ऐ. ऐनको दफा 3 को उपदफा (1) (ज) बमोजिमको कैद र जरिवाना गरी ऐ. ऐनको दफा 17 बमोजिम हानिनोक्सानी भएको बिगो रकम असुल उपर हुन।

(ख) भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बुटवलका तत्कालीन इन्जिनियर संतोष कुमार दासले उक्त निर्माण कार्यमा नापजाँच गरी तयार गरेको कागजात स्वीकृतिका लागि पेश गरी ठेकेदारले फिल्डमा गरेको वास्तविक कामभन्दा नापी कितावमा नभए नगरेको कामलाई भए गरेको हो भनी बढी काम गरेको देखाई झुट्टा विल बनाई स्वीकृतिको लागि पेश गरी प्रथम रनिङ्ग बिलको भुक्तानीसमेत गराई हानिनोक्सानी पुर्‍याएको दुवै ठेक्‍काको रु.९,३२,५४8।73 हानिनोक्सानी हुने गरी निज संतोष कुमार दासले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (ग) र (ङ) ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.९,३२,५४8।73 (नौ लाख बत्तीस हजार पाँच सय अठ्चालीस रुपैयाँ पैसा त्रिहत्तर) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको सजाय हुन र उक्त बिगो असुल उपर हुन।

यसैगरी निजले ठेक्‍काको म्याद थप तथा बीचैमा काम छोड्ने ठेकेदारलाई नियमानुसारको कारवाही नगरी भुक्तानीसमेत दिई जमानतको म्याद समाप्त भई फुकुवासमेत हुने गरी भए गरेको कामबाट हानिनोक्सानी भएको रकम, ठेक्‍का व्यवस्थापनमा बदनियतसाथ लापरवाही गरी ठेक्‍काको उद्देश्य पूरा नहुने गरी बीचैमा कामलाई अलपत्र परी, भए/गरेको लगानीको प्रतिफल शुन्य हुने गरी भए गरेको कामबाट रु.53,75,200।32 हानिनोक्सानी भएकोले निज संतोष कुमार दासले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 बमोजिमको लापरबाही साथ वदनियत राखी आफूसमेतलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.53,75,200।32 (त्रिपन्न लाख पचहत्तर हजार दुई सय रुपैयाँ पैसा बत्तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 मा उल्लेख भएवमोजिम ऐ. ऐनको दफा 3 को उपदफा (1) र ऐ. ऐनको दफा 3 को उपदफा (1) (ज) बमोजिमको कैद र जरिवाना गरी ऐ. ऐनको दफा 17 बमोजिम हानिनोक्सानी भएको बिगो रकम असुल उपर हुन।

 (ग) भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बुटवलका तत्कालीन लेखापाल नेत्र प्रसाद मरासिनीले भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन, वुटवल रुपन्देहीबाट आ.व. २०७४/0७५ मा पम्पहाउस, स्टोरेज टंकी र वितरण प्रणाली निर्माण कार्यको ठेक्‍कामा ठेक्‍का नं. 16/074-75/Nawalparasi र ठेक्‍का नं. 18/074-75/Nawalparasi को ठेक्‍का सम्झौता अनुसारको कार्यमा ठेकेदारले नियमानुसार दिनुपर्ने म्याद थपको निवेदनसमेत नदिएको अवस्थामा म्याद थप प्रक्रिया सुरु नगरी तयार भई पेश भएका नापी किताव र ठेक्‍कासम्बन्धी बिल, ठेक्‍काको म्याद समाप्त भई सकेपछि जारी भएको कर बिजक देखिँदादेखिँदै नियमानुसारको समयमा ठेक्‍काको म्याद थपको प्रक्रियातर्फ कुनै सक्रियता नदेखाई म्याद समाप्त भएका ठेक्‍काको रनिङ्ग विल भुक्तानी गरेको, म्याद समाप्त हुनु अगाबै कानुन तथा सम्झौता अनुसार भुक्तानी दावी गर्नुपर्नेमा सो नगरी दुबै जमानतको म्याद समाप्त भई फुकुवा समेत हुने गरी भए गरेको कामबाट हानिनोक्सानी भएको रकम, प्रचलित कानुन अनुसार गर्नुपर्ने दायित्व पूरा नगरी ठेक्‍का सम्झौताको बैधता र अस्तित्व नै समाप्त हुने गरी भए गरेको कामबाट नेपाल सरकारलाई रु.53,75,200।32 हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, 2059 दफा 17 बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज लेखापाल नेत्र प्रसाद मरासिनीलाई बिगो रु.53,75,200।32 (त्रिपन्न लाख पचहत्तर हजार दुई सय रुपैयाँ पैसा बत्तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 मा उल्लेख भएवमोजिम ऐ. ऐनको दफा 3 को उपदफा (1) र ऐ. ऐनको दफा 3 को उपदफा (1) (ज) बमोजिमको कैद र जरिवाना गरी ऐ. ऐनको दफा 17 बमोजिम हानिनोक्सानी भएको बिगो निजबाट असुल उपर हुन।

(घ) भोलेबाबा कन्स्ट्रक्सन र सो का प्रोप्राइटर, ठेकेदार सुक बहादुर गुरुङ्गले  निर्माण कार्यको ठेक्‍कामा प्रथम रनिङ्ग बिल भुक्तानी लिँदा नभए नगरेको काम भएगरेको भनी बढी मूल्याङ्‍कन गर्न लगाई नभए नगरेको कामको बढी भुक्तानी लिई नियमानुसारको म्याद थपको लागि निवेदन नै नगरी म्याद थपतर्फ कुनै प्रक्रिया नै नचाली प्रथम रनिङ्ग बिल भुक्तानीको माग गरेको, दुवै ठेक्‍काको फिल्डमा भए गरेको वास्तविक कामभन्दा नापी कितावमा बढी काम गरेको देखाउन लगाई झुट्टा विल बनाई/बनाउन लगाई भुक्तानी लिई आफूसमेतलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले सम्झौता, ठेक्‍काको शर्त पालना नगरी स्वीकृतिको लागि पेश गरी भुक्तानीसमेत गराई हानिनोक्सानी पुर्‍याउनुका साथै नियमानुसारको समयमा ठेक्‍काको म्याद थपको प्रक्रिया नचाली/नचलाई प्रचलित कानुनले तोकेको सम्झौता अनुसारको दायित्व पूरा गर्नेतर्फ अन्देखा गरी आफ्नो दायित्व पूरा नगरी/नगराई म्याद समाप्त भएका ठेक्‍काको रनिङ्ग विलसमेत भुक्तानी गराएको, कार्यालयलाई पूर्व जानकारी नदिई सम्झौताविपरीत हुने गरी काम छोडी प्रचलित कानुन अनुसार गर्नुपर्ने दायित्व पूरा नगरी ठेक्‍का सम्झौताको बैधता र अस्तित्व नै समाप्त हुने गरी ठेक्‍काको सम्झौता अनुसारको शर्त तथा दायित्व पूरा नगरी बीचैमा कामलाई अलपत्र पारी, भए/गरेको लगानीको प्रतिफल शुन्य हुने गरी भए गरेको कामबाट रु.63,07,749।05 आफूसमेतलाई फाइदा र सरकारलाई हानिनोक्सानी हुने गरी निज सुक बहादुर गुरुङ्गले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) ले परिभाषित गरेबमोजिमको सम्झौता, ठेक्‍काको शर्त पालना गर्नुपर्नेमा सो नगरी कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.63,07,749।05 (त्रिसठ्ठी लाख सात हजार सात सय उनन्पचास रुपैयाँ पैसा शुन्य पाँच) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिमको सजाय गरी बिगोसमेत जफत हुन साथै भोलेबाबा कन्स्ट्रक्सनलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिम बिगो बमोजिम जरिवाना गरी बिगोसमेत जफत हुन।

(ङ) भोलेबाबा कन्स्ट्रक्सनको तर्फबाट अख्तियारी प्राप्त, अख्तियार वाला प्रकाश भट्टराईले  निर्माण कार्यको ठेक्‍कामा फिल्डमा गरेको वास्तविक कामभन्दा नापी कितावमा नभए नगरेको कामलाई बढी काम गरेको देखाउन झुट्टा विल बनाउन लगाई स्वीकृतिका लागि पेश गरी नभए नगरेको कामको बढी भुक्तानी लिनुका साथै कार्यालयलाई पूर्व जानकारी नदिई सम्झौताविपरीत हुने गरी बीचमा काम छोडी प्रचलित कानुन अनुसार गर्नुपर्ने दायित्व पूरा नगरी ठेक्‍का सम्झौताको बैधता र अस्तित्व नै समाप्त हुने गरी ठेक्‍काको सम्झौता अनुसारको शर्त तथा दायित्व पूरा गर्न लापरवाही गरी ठेक्‍काको उद्देश्य पूरा नहुने गरी बीचैमा कामलाई अलपत्र पारी, भए/गरेको लगानीको प्रतिफल शुन्य हुने गरी भए गरेको कामबाट नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको दुबै ठेक्काको सम्झौता रकम रु.63,07,749।05 आफूसमेतलाई फाईदा र सरकारलाई हानिनोक्सानी हुने गरी निज प्रकाश भट्टराईले गरेको उक्त काम भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) ले परिभाषित गरेबमोजिमको सम्झौता, ठेक्‍काको शर्त पालना गर्नुपर्नेमा सो नगरी कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.63,07,749।05 (त्रिसठ्ठी लाख सात हजार सात सय उनान्पचास रुपैयाँ पैसा शुन्य पाँच) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) को सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?