गण्डकीमा मन्त्रिपरिषद् विस्तार, अन्तिममा काटियो मनाङेको नाम

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाली कांग्रेसबाट दीपेन्द्र थापा, महेन्द्रध्वज जिसी र जीतप्रकाश आलेमगरलाई मन्त्री नियुक्त गर्नुभएको हो । त्यस्तै, उहाँले नेकपा (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जालीलाई पनि मन्त्री नियुक्त गर्नुभएको छ ।

जिसीलाई कृषि तथा भूमि व्यवस्था, जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, आलेलाई आर्थिक मामिला र दीपेन्द्रबहादुर थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । उहाँहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष उहाँहरूले शपथ लिनुभएको हो ।

नेकपा एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादीकी सुशीला सिम्खडाले वैशाख १५ गते बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिनुभएको थियो । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई सामाजिक र अर्याललाई कृषि मन्त्रालयको जिम्वेबारी दिनुभएको छ ।

शुक्रबार बिहानै नेकपा (एकीकृत समाजवादी)का दिपक मनाङे मन्त्री हुने चर्चा भएको थियो । तर, अन्तिममा आएर उहाँको ठाउँमा कांग्रेसका जीतप्रकाश आले मन्त्री बन्नुभयो । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अन्तिम समयमा मनाङेलाई हटाएर कांग्रेसकै सांसद आलेलाई मन्त्री बनाउनुएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?