कांग्रेस नेता खाँण र एमाले नेता रायमाझी पोलिएपछि लुम्बिनीमा सन्नाटा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाँण पक्राउ परेपछि रुपन्देहीका कांग्रेसजन स्तब्ध छन् । सोही घटनामै एमाले नेता टोपबहादुर रायमाझी मुछिएपछि अर्घाखाँचीका एमाले नेताहरू पनि चिन्तित भएका छन् ।

राष्ट्रियस्तरमा नाम चलेका खाँण र रायमाझी दुवै लुम्बिनी प्रदेश क्षेत्रका अगुवा राजनीतिकर्मी हुनुहुन्छ । उक्त घटनामा दुवै अगुवा नेता पोलिएपछि लुम्बिनी प्रदेश क्षेत्रमै दुई पार्टीभित्र सन्नाटा छाएको छ । खाँण पक्राउ परेपछि रुपन्देहीमा काग्रेस कार्यकर्ताहरू तैँ चुप मै चुपको अवस्थामा छन् ।

उनीहरू यस विषयमा खुलेर बोल्न सकिरहेका छैनन् । त्यस्तै, अर्घाखाँचीका एमाले कार्यकर्ताहरू रायमाझी पोलिएपछि एमाले नेता पनि निराश देखिएका छन् । तर, रायमाझीका पूर्वसहकर्मी माओवादी कार्यकर्ताहरू खुसी देखिएका छन् ।

केही दिनयता नेपाली कांग्रेस रुपन्देही जिल्लाको पार्टी कार्यालय सुनसान छ । यस घटनापछि जिल्ला पार्टी कार्यालयले कुनै ठोस कार्यक्रम पनि सञ्चालन गर्न सकेको छैन । न त जिल्ला पार्टी नेतृत्व यस घटनाको पक्षमा कुनै प्रतिक्रिया नै दिएको छ । जिल्लाका पार्टी सभापति बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्ण खाँण हुनुहुन्छ ।

नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले यस विषयमा पार्टीको जिल्ला नेतृत्वले बैठक बसेर धारणा बनाउने काम गरिनसकेको प्रतिक्रिया दिनुभयो । उहाँले यस घटनापछि पार्टीको बैठक पनि नडाकिएको बताउनुभयो । अर्यालले उक्त घटनामा निष्पक्ष छानबिन गरी दोषि उम्कीन नहुने र निर्दोष फस्न नहुने धारणा राख्नुभयो ।

त्यस्तैगरी, कांग्रेस लुम्बिनी प्रदेशका सदस्य रामबहादुर कार्कीले खाँण पक्राउ परेकोमा आश्चर्यचकित भएको बताउनुभयो । उहाँले खाँणको यो कर्मको फल भएको धारणा पनि व्यक्त गर्नुभयो । कार्कीले पत्नी मन्जु खाँणका कारण बालकृष्ण खाँण बिग्रिएको अनुभवसमेत व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस बुटवल महानगरपालिका नगर कार्य समितिका सचिव छाया पोखरेलले खाँणले सत्यतथ्य बयान दिई आफूलाई निर्दोष सावित गर्ने विश्वास लिएको बताउनुभयो । पोखरेलले खाँणका सहयोगी तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र निजी सचिव नरेन्द्र केसीसमेत पक्राउ परेकाले घटना जटिल भएको धारणासमेत व्यक्त गर्नुभएको छ । पोखरेलले खाँणले आफूलाई सफाइ दिएर राजनीतिमा पुनःस्थापित हुने अपेक्षासमेत लिएको बताउनुभयो ।

त्यस्तैगरी, अर्घाखाँचीका बुद्धिजीवी फाँटका अगुवा तथा राजनीतिक विश्लेषक कार्यकर्ता ऋषि आजादले टोपबहादुर रायमाझी नक्कली भुटानी शरणर्थी कान्डमा मुछिएकोमा आफू अचम्मित परेको बताउनुभयो । उहाँले रायमाझी भागेपछि उहाँ दोषी भएको कुरामा बल पुगेको धारणा पनि राख्नुभयो । त्यस्तै नेकपा एमालेका अर्घाखाँचीका अगुवा कार्यकर्ता शोभाखर पन्थीले एमाले अर्घाखाँचीको बैठक बसी टोपबहादुरको संलग्नताको बिषयमा सत्यतथ्य छानविन गरी निर्दोष भए सफाइ दिनुपर्ने धारणा बनाएको बताउनुभयो ।

अर्घाखाँचीका अर्का नेता सहयोगी बिसीले टोपबहादुर रायमाझी फरार हुनुले उहाँ दोषी रहेको प्रमाणित भएको बताउनुभयो । बिसीले रायमाझीलाई भगाउन प्रहरीले सहयोग गरेको आरोपसमेत लगाउनुभयो । रायमाझी उक्त कान्डमा मुछिएपछि अर्घाखाचीका एमाले कार्यकताहरू तै चुप मैचुपको अवस्थामा रहेको जनाउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश क्षेत्रका अगुवा कार्यकर्ता वामदेव क्षेत्रीले टोपबहादुर रायमाझी फरार हुनुले उनी दोषी रहेको बताउनुभयोे । माओवादी भ्रष्टचारको सधैँ विरोधी रहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?