नक्कली भुटानी शरणार्थी प्रकरण : स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग गर्ने कांग्रेसको प्रष्टोक्ति

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पारेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताउनुभएको हो । नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि कांग्रेसले सहयोग गर्ने उहाँले बताउनुभयो । निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउनु नहुने उहाँको भनाइ छ । ‘शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रिया अगाडि बढोस् भन्ने हाम्रो दृष्टिकोण हो । यसमा पार्टीको पूरा सहयोग हुन्छ,’ उहाँले भन्नुभयो, ‘अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्‍यो । निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउनु भएन ।’ उहाँले पार्टी सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरहनु भएको बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले पार्टीले कुनै निर्णय नगरेको उहाँले स्पष्ट पार्नुभयो । एमाले सचिव टोपबहादुर रायमाझी र खाँणको केस फरक रहेको भन्दै एउटैमा जोड्न नमिल्ने उहाँको भनाइ छ । अनुसन्धानले निकालेको निष्कर्षका आधारमा पार्टीले धारणा बनाउने उहाँले बताउनुभयो । ‘उहाँ (बालकृष्ण खाँण)ले म निर्दोष छु र प्रमाणित गर्छु भनिरहनु भएको छ,’ प्रवक्ता महतले भन्नुभयो, ‘त्यसो हुनाले हामी निर्णयमा नपुगेका हौँ । रायमाझी उहाँको केस एउटैमा जोड्ने अवस्था म देख्दिनँ । अनुसन्धानले जे निष्कर्ष निकाल्छ, त्योअनुसार पार्टीले आफ्नो दृष्टिकोण बनाउँछ ।’

आरजूविरुद्ध मिडिया ट्रायल गरियो
कांग्रेसले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजू राणा देउवाविरुद्ध मिडिया ट्रायल भइरहेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता महतले राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको दाबी गर्नुभयो । राणा आफैँले अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन उहाँले आग्रह गर्नुभयो । ‘डा. आरजू राणाको विषयलाई लिएर सामाजिक सञ्जालमा ट्रायल भइरहेको छ । उहाँ आफैँले साइबर ब्युरोमा गएर अडियो नक्कली भन्दै उजुरी दिनुभएको छ,’ महतले भन्नुभयो, ‘यत्तिकै सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी हो भनेजस्तो गर्नु भएन । यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । मलाई विश्वास छ अडियो प्रकरण झुटो र नक्कली हो ।’

को कहाँ छ भनेर पार्टी पछि लाग्ने कुरो हुँदैन : प्रवक्ता महत
कांग्रेसले प्रतिनिधिसभाकी सदस्य मञ्जु खाँणको अवस्थाबारे अनभिज्ञता प्रकट गरेको छ । कांग्रेस प्रवक्ता महतले को कहाँ छ भनेर पार्टी पछि लाग्ने कुरा नभएको बताउनुभयो । ‘को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा भएन,’ प्रवक्ता महतले भन्नुभयो, ‘तर अहिले हाम्रा केही नेताविरुद्ध मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको छ ।’
उहाँले मञ्जुले जस्तै बिचौलियाबाट दुई करोड रुपैयाँ लिएको दाबीसहितको अडिओलाई लिएर कांग्रेस नेतृ आरजू देउवाले साइबर ब्युरोमा उजुरी दिएको पनि पुनः स्मरण गर्नुभयो । नक्कली शरणार्थी प्रकरणमा पूर्व–गृहमन्त्रीसमेत रहनुभएका पति बालकृष्ण खाँण वैशाख २७ गते पक्राउ परेयता मञ्जु गायव हुनुहुन्छ । खाँणसहित कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पा प्रहरी हिरासतमा हुनुहुन्छ । यसै प्रकरणमा जोडिनुभएका एमाले नेता टोपबहादुर रायमाझीसहित १३ जना प्रहरी हिरासतमा छन् । तत्कालीन गृहमन्त्री राबहादुर थापा बादलका छोरा प्रतीक भने फरार हुनुहुन्छ ।

कांग्रेस युवा नेताहरूले घोषणा गरे पार्टी रूपान्तरण अभियान
नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी रूपान्तरण अभियानको घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यसहित नेताहरू गुरु घिमिरे, रञ्जित कर्ण र भुपेन्द्रजंग शाही लगायतले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी रूपान्तरण अभियानको घोषणा गर्नुभएका हुन् । कांग्रेस जमुवा पोखरीझैँ भएको केन्द्रीय सदस्य मधु आचार्यले बताउनुभयो । उहाँले कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी रूपान्तरणको सम्भावना नभएको बताउनुभयो । हाल कांग्रेसभित्र गैरकांग्रेसी चरित्रले बास गरेको उहाँको भनाइ छ । कांग्रेसको कमी, कमजोरीबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिहरूको उदय भएको उहाँले बताउनुभयो । अभियानले जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौं, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौंमा बृहत् भेला तथा अन्तरक्रिया कार्यक्रम राखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?