पाँच वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य

आधा उम्मेदवार ‘प्राइमरी इलेक्सन’बाट छान्ने

नारायण भण्डारी
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अबदेखि ‘प्राइमरी इलेक्सन’बाट उम्मेदवार छान्ने भएको छ । प्रदेश र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा प्राइमरी इलेक्सन गर्ने निर्णय केन्द्रीय समितिले गरेको हो । ‘प्रारम्भिक रूपमा प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ५० प्रतिशत उम्मेदवार प्राइमरी निर्वाचन प्रणालीबाट चयन गरिनेछ,’ केन्द्रीय समिति बैठकपछि प्रवक्ता सगुनसुन्दर लावतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राप्रपाले पाँच वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पु¥याउने लक्ष्यसमेत लिएको छ । ‘राप्रपालाई अब ‘नवीन राप्रपा’को अवधारणाअनुसार युवा र महिला केन्द्रित नयाँ सोच र शैली अनुशरण गर्दै आम नागरिकमा आशा, भरोसा र विश्वास जगाउँदै पाँच वर्षभित्र राप्रपालाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्य लिइएको छ,’ केन्द्रीय समितिको निर्णयमा उल्लेख छ ।

उच्चपदस्थको सम्पत्ति छानविनका लागि आयोग बनाउन माग
राप्रपाले भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारबाही गर्न माग गरेको छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध, सरकारी दस्तखत किर्तेलगायत कसुरमा कारबाही चलाउन राप्रपा माग गर्दछ,’ निर्णयमा भनिएको छ । साथै राप्रपाले २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीको सम्पत्ति छानविन गर्नसमेत माग गरेको छ । छानविनका लागि उच्चस्तरीय स्वतन्त्र नागरिक आयोगसमेत बनाउन माग गरेको छ ।

सरकारी कर्मचारीको संगठन नबनाउने, विद्यार्थी संगठन गैरराजनीतिक हुने
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी वेतनधारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ । जेठ १ गतेदेखि ३ (बुधबार)सम्म बसेको केन्द्रीय समिति बैठकले सरकारी वेतनधारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने भएको छ । राप्रपाले हरेक समिति र तहहरूमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष उमेरमुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्नेसमेत निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?