‘पोखराबाट चीनका शहरमा चार्टर्ड उडान हुँदैछ’

फाइल तस्बिर

Read Time = 4 mins

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले असार पहिलो सातादेखि चार्टर्ड उडान सुरु हुने बताउनुभएको हो । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा मन्त्री किराँतीले भन्नुभयो, ‘जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न शहरमा चार्टँर्ड उडान गर्दैछौँ, हिजोमात्रै अन्तिम कुराकानी गरेका छौँ ।’ तर, उहाँले पोखराबाट चीनका विभिन्न शहर र कुन-कुन एयरलाइन्सले उडान गर्ने भन्नेबारे भने खुलाउनुभएको छैन ।

२०७९ पुस १७ गतेदेखि व्यावसायिकरूपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन । विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि हालसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ । पर्यटनमन्त्री किराँतीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने जानकारी दिनुभयो । काठमाडौं-क्वालालम्पुर-भैरहवा-काठमाडौं सेक्टरमा उडान हुने बताइएको छ । पर्यटनमन्त्री किराँतीले सञ्चालनमा नरहेका १८ विमानस्थलको व्यावसायिक सम्भावना हेरेर यथाशीघ्र सञ्चालन गरिने जानकारी गराउँदै निगमलाई व्यावसायिकरूपमा प्रतिस्पर्धी बनाउने उद्देश्यले आन्तरिक उडानमा बजार विस्तारका लागि थप जहाज खरिद गर्न लागेको र ‘हब’ विमानस्थलमा उडान भर्ने गरी तीन थान जहाज खरिद प्रक्रिया अघि बढाइएको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले सरकार र निजी क्षेत्रको साझेदारी बढाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोनापछि पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको संकेतसँगै पर्यटन क्षेत्रमा उत्साह थपेको भन्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्र र सरकारको साझेदारी फराकिलो बनाएर पर्यटकीय पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रका सम्भावनालाई व्यवहारमा परिणत गर्न सबै क्षेत्रले सक्रियता देखाउनुपर्ने बताउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन पूर्वाधार विकास र प्रवद्र्धनको काम सँगै अघि बढाइनुपर्ने बताउनुभयो । नाट्टाका अध्यक्ष रमेश थापाले कोरोनापछिको पर्यटनलाई पुरानै लयमा फर्काउन थप मिहिनेत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?