चीनमा १६ देखि २४ वर्ष उमेर समूहको राष्ट्रिय बेरोजगारी दर १९.५ प्रतिशत

Read Time = 4 mins

बेइजिङ । चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगिरहेको छ । न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटप्डीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ । यद्यपि, उनीहरूले कामको खोजीलाई जारी राखेका छन् ।

कोभिड-१९ को महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्ध हटाइएको महिनौं बितिसक्दा पनि रोजगारीका लागि बजारमा युवा पुस्ताले संघर्ष गर्नुपरेको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले जारी गरेको गत महिनाको तथ्यांकमा पनि स्थिति झन् खराब हुँदै गएको देखाइएको छ । ब्युरोको तथ्यांकमा १६ देखि २४ वर्ष उमेर समूहको राष्ट्रिय बेरोजगारी दर १९.५ प्रतिशत रहेको उल्लेख छ । गत डिसेम्बरको तुलनामा यो झण्डै तीन प्रतिशतले बढी हो ।

टोनी बाईले दुई वर्षअघि चीनको एक विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गर्नुभएको थियो तर उहाँ अझै बेरोजगार हुनुहुन्छ । चीनका करिब तीन करोड बेरोजगार युवामध्येका एक उहाँ भनुहुन्छ, ‘कहिलेकाहीँ म किन विश्वविद्यालय गएँ भनेर सोच्छु । यदि मैले हाई स्कुलबाट सिधै जागिर पाएको भए म अहिले प्रबन्धक भइसक्थेँ ।’ २३ वर्षीय टोनीले थप अध्ययन गर्न चाहेकाले जागिर पाउने सम्भावना रहेको आफ्नो विश्वास सुनाउनुभयो । तर, विश्वविद्यालयको सीमित स्थानका लागि कडा प्रतिस्पर्धा भएको र तीनपटक प्रवेश परीक्षामा अनुत्तीर्ण भएको दुःखेसो उहाँको छ ।

युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियाको चिनियाँ अध्ययनका वरिष्ठ प्राध्यापक ताओ यु चीनका युवा सामान्यतया राम्रो शिक्षाले राम्रो तलबको जागिर पाइने विश्वास गर्नुहुन्छ । यद्यपि, वास्तविकता भने फरक छ । विश्वविद्यालयका स्नातकहरूका लागि जागिरका कम अवसर रहेका कोरोना महामारीको आर्थिक समस्याले देखाएको उहाँ बताउँनुहुन्छ ।

केही चिनियाँ युवाले आफ्नो समस्या समाधान गर्न रात्री बजारमा स्टल राखेर आय आर्जनको बाटो रोजेका छन् । चीनमा बेरोजगार युवाका लागि कुनै कल्याणकारी योजना नभएकाले परिवारको सहयोगमा निर्भर युवालाई समस्या छ । उनीहरू यस्तै विकल्प रोज्न बाध्य छन् । चीन सरकारले प्रविधि, शिक्षा र सम्पत्ति क्षेत्रमा गरेको कारबाहीका कारण युवाको ठूलो संख्याले रोजगारी गुमाएका छन् । नामचलेका विशाल प्राविधिक कम्पनीले हजारौं कामदारलाई निकालेका छन् ।

देशको आर्थिक अवस्थाका कारण आफूहरू बेरोजगार भएको दुःखपुकारा उनीहरूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्न थालेका छन् । उनीहरूले राज्य आफ्नो दायित्वबाट पन्छिन खोजेको आरोप पनि लगाएका छन् । रासस÷एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?