योगेश भट्टराईलाई देवेन्द्र पौडेलको जवाफ-मान्छेले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताउनुभएको हो । त्यसअघि नेकपा(एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा निति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाउनुभएको थियो ।

भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पार्नुभयो । उहाँले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोष पल्टाएर हेर्न पनि आग्रह गर्नुभयो । उहाँले जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधान बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफु हजार पटक आँखा जुधाएर वहश गर्न तयार रहेको बताउनु भयो ।

उहाँले इतिहासलाई सम्मान गर्न पनि आग्रह गर्नुभयो । उहाँले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनि नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘माननीयजीलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु । यो माछायुद्ध थियो ? भालुयुद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ? माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला । मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ । कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरुले लडेका युद्ध थियो । बिर्सिनुभयो बृहत शान्ति सम्झौता ? तपाईको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो ? हामी त्यही श्रृङ्खलामा छौँ । त्यसकारण म के भन्न चाहन्छु भने नेपाली जनतालाई सार्वभौम बनाउनको निम्ति, संविधानसभाबाट संविधान बनाउनको निम्ति जनयुद्ध लडिएको थियो । म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु आउनुस् बहस गर्न यहाँ समय नमिल्ला । नेपाली जनताले एकात्मक शाहवंशीय राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि लडाइँ लडिएको थियो । हामी सबैपछि सहकार्य गर्‍यौँ । जनआन्दोलनमा आयौँ । सलाम छ । तर इतिहासलाई नबिर्सौ । रोष्टममा आएर कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गरौँ यहाँ । माननीयज्युहरु धनगढीमा गएर तपाईहरुले अहिले चलिरहेको छ नागरिक अभिनन्दन । राजतन्त्र फर्काउने कुरा । त्यहाँ गएर बहस गर्नुस् । हामी यहाँ सहकार्य गर्न तयार छौँ । आजको इतिहास सबैले मिलेर ल्याएको गणतन्त्रलाई जोगाएर अगाडी बढ्ने इतिहास हो । विगतमा सबै आन्दोलनप्रति सम्मान गर्न सिकौँ ।’

उहाँले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रुपमा आएकोले पारित गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले निति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउने गरी आएको बताउनु भयो । निति तथा कार्यक्रम पारित हुने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?