हवाई सेवा नियमित नहुँदा अकालमा ज्यान गुमाउँदै बिरामी

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

बाजुरा । बाजुरामा हवाई सेवा नियमित उडान नहुँदा चारदिनमा दुईजना बिरामीको मृत्यु भएको छ भने केही बिरामी अलपत्र परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले चार दिनको अवधिमा रिफर गरेका दुईजना बिरामीको ज्यान गएको हो । थप उपचारका लागि रिफर गरिएका चार जनामध्ये दुईजना बिरामीको बीच बाटोमै मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी बाजुराले जानकारी दिएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीनन्दा नगरपालिका-३ का अग्नि बोहरा र जगन्नाथ गाउँपालिका-१ की ऐना गिरी रहनुभएको छ । स्थानीय जनककुमार विष्टले भन्नुभयो, ‘स्वास्थ्य केन्द्रले रिफर गरेको थियो, कोल्टीमा जहाज नआउने भएपछि गाडीबाट अस्पताल लैजान खोज्दा बिरामीको मृत्यु भएको हो । कोल्टी विमानस्थलमा ६ दिनदेखि हवाई उडान नै भएको छैन । बिरामी जहाज पखेर बसे पनि उनीहरूका लागि काल पहिले र विमान पछि आउने अवस्थाको सिर्जना भएको छ ।’

हप्ता दिनदेखि हिमाली गाउँपालिका–७ का स्थानीय जहाजको पर्खाईमा छन् । मृत्यु हुनुभएका २६ वर्षीय बोहरा विद्युत्को तारलाई विस्तार गर्ने क्रममा पोल ढलेपछि घाइते हुनुभएको थियो । घाइते बोहोरालाई थप उपचारका लागि तत्काल धनगढी रिफर गरिएको थियो । रिफर गरिएको ६ घण्टा नबित्दै उहाँको डोटीको चौखुट्टेमा मृत्यु भएको आफन्तले बताएका छन् ।

कोल्टीबाट धनगढीको पैदल यात्रा करिब १६ घण्टा बढी लाग्ने गरेको छ । हवाई सेवाको बिकल्प नभए पनि बोहरालाई आफन्तले पैदल यात्राबाट उपचारका लागि लगेका थिए । त्यसैको ठिक एक दिनपछि रिफर गरिनुभएकी बिरामी ऐना गिरीको पनि बीच बाटोमै ज्यान गएको हो । मस्तिष्क घातको समस्या देखिएपछि उहाँलाई रिफर गरिएको थियो । उपचार सम्भव नहुने देखेर रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले बताएको छ ।

५५ वर्षीया गिरीको पनि डोटीकै साजघाटमा मृत्यु भएको आफन्तले बताएका छन् । रिफर गरिएका चार जनामध्ये पैदल मार्गबाट गएका दुवै जनाको मृत्यु भइसकेको छ । बाँकी दुई अझैपनि जहाजको पर्खाइमा बसिरहेका छन् । तर, कोल्टी विमानस्थलमा ६ दिनदेखि हवाई उडान नै भएको छैन ।

सिजनमा हवाई कम्पनीले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन् । पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यन्त्र जाँदा यहाँका विरामीले अकालमै ज्यान गुमाउनु परेको स्थानीयको भनाइ छ । कोल्टीमा सातै दिनको उडान तालिका रहेको छ । सीता एयर बिहीबार, तारा सोमबार, नेपाल एयर मंगलबार र बाँकी दिन समिट एयरले उडान भर्ने तालिका छ । बुधबारयता कुनै कम्पनीले पनि उडान नभरेको विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताउनुभएको छ ।

बाजुरादेखि नेपालगञ्जसम्मको हवाई उडान समय ३० देखि ३५ मिनेटको हुने गरेको छ । नियमित उडान नभरेपनि आकस्मिक अवतरण गर्न अनुरोध गर्दा पनि नमानेको मृतकका आफन्तको आक्रोश छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बाजुराका चार पालिका र छिमेकी हुम्ला, मुगु र कालीकोट जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् । कर्णाली करिडोर पनि भरपर्दो नभएको र मार्तडी कोल्टी, मार्तडी धनगढी सडकको दूरी निकै लामो हुने हुँदा बिरामीका लागी ठूलै सास्ती हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?