नेपालीले बनाएको रकेट अमेरिकामा उडाइने

Read Time = 3 mins

काठमाडौं । नेपाली युवा वैज्ञानिकहरूले निर्माण गरेको रकेट अब अमेरिकाको द न्यु मेक्सिकोबाट उडाइने भएको छ । एस्ट्रल स्पेस रिसर्च नेपालले अमेरिकामा हुने ‘स्पेस एपोर्टस कप २०२३’ का लागि नेपालको प्रतिनिधित्व गर्दै जाने १६ सदस्यीय टोली तयार गरेको छ ।

इञ्जिनियर शिशिर जिसीको नेतृत्वमा नेपालमा रकेटको क्षेत्रमा अनुसन्धान र विकासमा लामो समय काम गरेका युवा वैज्ञानिकको सहभागिता रहने एस्ट्रलले जनाएको छ । स्पेस एपोर्टस कप २०२३ जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यु मेक्सिकोमा हुनेछ, जसमा विश्वभरका विभिन्न शक्तिशाली देशसँगै नेपाल पनि सहभागी हुँदैछ ।

एस्ट्रल स्पेसले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त ‘प्रोजेक्ट श्री’ अभियान सफल बनाउन सरकारलाई सहयोगका लागि आग्रहसमेत गरेको छ । एपोर्टस कपका लागि सहयोग संंकलनस्वरूप सिबिएम कलेज अफ साइन्स डिल्लीबजारमा जेठ १४ गतेसम्म प्रदर्शनी आयोजनाा गरिएको कार्यक्रम संयोजक जिसीले जानकारी दिनुभयो ।

सिबिएम कलेज अफ साइन्ससँगको सहकार्यमा ‘आकाश छुने सपना, नेपालको रकेट’ अभियान अघि बढाइरहेको हो । ‘स्पेस एपोर्टस कपमा सहभागिताका लागि ९० लाख रुपैयाँ खर्च हुने अनुमान रहे पनि हालसम्म रकमको सुनिश्चितता नहुँदा अन्योल सिर्जना भएको जिसीले बताउनुभयो । आफूहरूले निर्माण गरेको रकेट अमेरिकी आकाशमा झण्डै १० हजार फिट अग्लो स्थानमा पुग्ने जिसीको विश्वास छ ।

पछिल्लो समय नेपालमा प्रविधिको विकास तीव्रगतिमा भइरहेकाले अन्तर्राष्ट्रिय सहभागितालगायतका अवसरले नयाँ पुस्तालाई थप सहयोग र हौसला प्रदान गर्ने सिबिएम कलेजका प्रिन्सिपल सुमन न्यौपानेले बताउनुभयो । नेपालमा विकास तथा प्रविधि क्षेत्रका लागि सम्भावना भए पनि सरकारले बेवास्ता गरेका कारण नेपाल पछि परेको एस्ट्रल स्पेस रिसर्च नेपालका सदस्य डा. निकोलश भुसालको गुनासो छ । सरकार र निजी क्षेत्रको सहयोगबिना कुनै पनि कार्य गर्न सकिने अवस्था नरहेको भन्दै उहाँले सहयोग र सहकार्यका लागि सरोकारवारवाला निकायलाई आग्रहसमेत गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?