भेरी अस्पतालको आकस्मिक सेवा स्तरोन्नति

हिमालय टाइम्स
Read Time = 4 mins

-शुभाकर विश्वकर्मा
नेपालगन्ज । भेरी अस्पताल अन्तर्गत रहेको आकस्मिक सेवाको स्तरोन्नति गरिएको छ । बिरामीको चापलाई मध्यनगर गरेर अस्पतालमा रहेको आकस्मिक (इमरजेन्सी) सेवा स्तरोन्नति गरिएको हो । हालसम्म अस्पतालमा १५ वटा मात्रै बेड रहेका थिए । अस्पतालको इमरजेन्सी अब ३० बेडमा स्तरोन्नति गरिएको जनाइएको छ ।

यसका साथै एक्स–रे, प्रयोगशाला र सुविधा सम्पन्न अन्य पूर्वाधारसहितको उक्त इमरजेन्सी कक्षको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उद्घाटन गर्नुभयो । भेरी अस्पताल परिसरमा निर्माणाधीन भवनको भुईँतलामा रहेको उक्त इमरजेन्सी कक्ष भवनको अरु भाग फिनिसिङ नहुँदै सञ्चालनमा ल्याइएको हो ।

यसअघि भेरीको इमरजेन्सी कक्षमा बेडको अभावमा कुर्सीमा राखेरसमेत बिरामीको उपचार गरिँदै आएको थियो । नयाँ इमरजेन्सी कक्षमा बिरामीको अवस्था अनुरूपको रातो, पहेँलो र हरियो गरी बेड तथा स्थान वर्गीकरण गरिएको छ । कुनै बिरामीको मृत्यु भइहालेमा शव राख्न ब्ल्याक रुमको व्यवस्था गरिएको छ भने सरुवा रोगका बिरामीलाई राख्न आइसोलेसन कक्षको पनि व्यवस्था गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले बिरामीको अत्यधिक चाप र एमआरआई मेसिनको सञ्चालनका लागि पहिले रहेको भवनबाट नयाँ भवनमा इमरजेन्सी सार्न हतार गर्नुपरेको बताउनुभयो । असार मसान्तसम्म भवन हस्तान्तरण हुने अपेक्षा गरिएको बताउँदै उनले त्यसपछि हाल एक सय ६२ बेडमा सेवा दिइरहेको अस्पताल करिब तीन सय बेडमा सेवा दिने अवस्थामा पुग्ने जानकारी दिनुभयो । उक्त भवन निर्माणमा ढिलाइ हुँदा गत वर्ष नै हस्तान्तरण हुनुपर्ने भवन अझै निर्माणाधीन छ । इमरजेन्सी कक्ष पुरानोबाट नयाँ भवनमा सरेर जेठ १५ गतेबाट पूर्ण क्षमतामा सेवा दिन थाल्ने डा. चापागाईंले जानकारी दिनुभयो ।

नयाँ इमरजेन्सी कक्षको उद्घाटन गदै सचिव डा. पोखरेलले पाँच सय बेडको अस्पताल हुँदा ५० बेडको इमरजेन्सी कक्ष हुनुपर्ने बताउँदै त्यसका लागि पनि अहिलेदेखि नै तयारी गर्न सुझाव दिनुभएको छ ।

यस्तै,भेरी अस्पताल विकास समितिका पदाधिकारीको बिदाइ गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्यहरु सरस्वती मल्ल, कृष्णप्रसाद श्रेष्ठ र धनराम वलीको बिदाइ गरिएको हो । अस्पतालले आयोजना गरेको इमरजेन्सी कक्ष स्तरोन्नति तथा बिदाइ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले पदाधिकारीलाई कदरपत्रसहित बिदाइ गर्नुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?