नौ वटा वर्थिङ सेन्टररलाई रेडक्रस खोटाङ शाखाले दियो स्वास्थ्य सामाग्री

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका नौ वटा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

नुनथला, बाम्राङ, चिउरीडाँडा, खार्मी, पाथेका, जालपा, बुईपा, नेर्पा र निर्मलीडाँडामा रहेका वर्थिङ सेन्टरलाई बिहीबार बिहान रेडक्रसको कार्यालयमा कार्यक्रम गरी स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

क्यानेडियन रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित ‘समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रम’ अन्तर्गत नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका सामाग्री नपुगेका वर्थिङ सेन्टरहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको रेडक्रसका जिल्ला शाखाका मन्त्री छत्रकुमार वजियमले बताउनुभयो ।

वजिमयका अनुसार सन् २०२२ मा नेपाल सरकारले तोकेको मापदण्ड वर्थिङ सेन्टरले पूरा गरे/नगरेको सर्वेक्षण गरिएको थियो । त्यही सर्वेक्षणका आधारमा सामाग्रीहरु नपुग भएका वर्थिङ सेन्टरलाई सामाग्री दिईएको हो ।

वर्थिङ सेन्टरलाई डेलिभरी बेड, डेलिभरी सेट, सर्भाइकल टियर रिपियर सेट, सक्सन मेसिन, मेजरिङ टेप, बेडसाइड स्क्रीन, डिजिटल वेट मेसिन, ड्रम, बेबी ¥यापर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

स्वास्थ्य सामाग्री रेडक्रस केन्द्रीय कार्यालयका स्वास्थ्य अधिकृत दीपक पोखरेल, शाखा सभापति ज्ञानेन्द्र जोशी, मन्त्री वजिमयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई हस्तान्तरण गर्नुभएको थियो ।

सन् २०२० देखि रेडक्रसद्धारा सञ्चालित ‘समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रम’ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित छ । यसअघि यहि कार्यक्रम अन्तर्गत ऐसेलुखर्क गाउँपालिकाको राखाबाङदेल, माक्पा, ज्यामिरे र ऐसेलुखर्क वर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको रेडक्रसले जनाएको छ ।

१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ वटा वर्थिङ सेन्टर सञ्चालनमा छ । विजयखर्क र बुवालुङमा वर्थिङ सेन्टर अतिआवश्यक रहेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताउनुभयो । आचार्यका अनुसार खाल्लेमा वर्थिङ सेन्टरका लागि सामाग्री भए पनि भवन बन्ने चरणमा छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?