मन्त्रिपरिषद् बैठक : नागरिकता विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसँग आग्रह गर्ने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिनुभयो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको थियो । नयाँ राष्ट्रपति चुनिएपछि सरकारले फेरि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसँग आग्रह गरेको हो । ‘नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गरेर पठाउने निर्णय भएको छ’, मन्त्री रिजालले भन्नुभयो ।

यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै शीतलनिवासले कानुनविद्हरूसँग आवश्यक परामर्शसमेत गरिसकेको अवस्था थियो । शुक्रबार सोहीअनुसार मन्त्रिपरिषद्ले दुबै संसद्ले दुईपटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शीतलनिवास पठाउने निर्णय गरेको हो । यद्यपि, यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने कि नमिल्ने भन्नेमा विवाद भने कायमै छ ।

यस्तै, शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको एजेण्डाबारे पनि छलफल भएको छ । बैठकमा भ्रमणका क्रममा के-कस्ता एजेण्डालाई उठाउने भन्नेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिनुभयो । ती मन्त्रीका अनुसार खासगरी भौतिक पूर्वाधार मन्त्रालय मातहतको बथनाहा-विराटनगर-कटहरी रेलमार्ग निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्न भारत सरकारसँग आग्रह गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

भारत सरकारको सहयोगमा सन् २०११ देखि सो रेल वे ट्र्याक खोल्ने काम सुरु भएको थियो । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले उठाउने यसबाहेक अन्य केही महत्वपूर्ण एजेण्डाबारे पनि छलफल भएको ती मन्त्रीको भनाइ छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले १७ जेठदेखि २० गतेसम्म भारतको भ्रमण गर्ने तयारी गर्नुभएको छ । भ्रमणको तयारीस्वरूप बिहीबार भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरसँग समेत भेटवार्ता गर्नुभएको थियो । यसअघि साताको मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?